जनता टाइम्स

२० भाद्र २०८३, शनिबार ०७:४८

माथिल्लो त्रिशूली–१ मा ६ जनाको शव फेला


काठमाडौं, भदौ २० । भाेटेकाेशी बाढीले क्षतिग्रस्त २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा हराइरहेकाहरूको खोजीका क्रममा शुक्रबार आयोजनास्थलबाट ६ जनाको शव फेला परेको छ।

आयोजनाको सुरुङ तथा हेडवर्क्स क्षेत्रमा हराइरहेकाहरूको खोजी गर्ने क्रममा तालिमप्राप्त कुकुरसहितको टोलीले ६ जनाको शव फेला पारेको निजी ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ। सल्लेटार क्षेत्रमा फेला परेका शव नेपाली सेनाको टोलीले बट्टार ल्याएको बताइएको छ।

हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि कोरियाली उद्धार टोली, शेर्पा उद्धारकर्मी, सर्च तथा ड्रोन टोली परिचालन गरिएको आयोजनाले जनाएको छ। खोजी कार्यलाई थप प्रभावकारी बनाउन विशेष क्यामेरा र तालिमप्राप्त कुकुरसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

आयोजना कम्पनीले उद्धार कार्यका लागि १५ वटा मेसिन तथा आवश्यक उपकरण आयोजनास्थलमा पुर्‍याएको जनाएको छ। ती उपकरणको प्रयोग गरी शनिबारदेखि उद्धार कार्यलाई थप तीव्रता दिने तयारी गरिएको छ।

यसैबीच, आयोजनाको सुरुङभित्र जमेको पानी हटाउन वाटर पम्प सञ्चालन गर्ने कार्यसमेत जारी रहेको कम्पनीले जनाएको छ। सुरुङभित्रको अवस्था क्रमशः सहज बनाउँदै हराइरहेकाहरूको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको बताइएको छ।