जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार ०९:२४

चोरी गर्न पुगेका व्यक्ति भाग्ने क्रममा तीन तलाबाट खसे, घटनास्थलमै मृत्यु


विराटनगर, भदौ १४ । विराटनगर महानगरपालिका–४ गणेशचोकस्थित एक घरमा चोरी गर्न पुगेका एक पुरुषको भाग्ने क्रममा तीन तलाबाट खसेर मृत्यु भएको छ।

मोरङ प्रहरीका अनुसार आइतबार राति करिब १२ः२० बजे पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्ने उद्देश्यले प्रवेश गरेका अन्दाजी ३५–४० वर्षीय पुरुष तीन तलाबाट खसेर घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार ती व्यक्ति छिमेकीको घर हुँदै न्यौपानेको घरको माथिल्लो तलामा पुगेका थिए। घरधनीले अपरिचित व्यक्तिलाई देखेपछि होहल्ला गरेसँगै आसपासका मानिस जम्मा भएका थिए।

मानिसहरू जम्मा भएपछि पक्राउ पर्ने डरले भाग्न खोज्दा उनले घरको तीन तलामाथिबाट हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। भुइँमा खसेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको सूचना पाएपछि डीएसपी सन्तोष श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई राति करिब २ बजे पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ।

मृतकको साथबाट पहिचान खुल्ने कुनै कागजात वा विवरण फेला नपरेको प्रहरीले जनाएको छ। उनको नाम र ठेगाना हालसम्म खुल्न सकेको छैन।

डीएसपी श्रेष्ठका अनुसार मृतकको पहिचान खुलाउने प्रक्रिया अघि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको छ।