काठमाडौं, भदौ १७ । अमेरिकाले इरानका विभिन्न सैन्य संरचनामाथि ठूलो हवाई हमला गरेपछि इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य संरचनामाथि जबाफी आक्रमण गरेको छ ।
अमेरिकी आक्रमणपछि इरानले जोर्डन, बहराइन र इराकमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ । यससँगै केही सातादेखि तुलनात्मक रूपमा शान्त रहेको अमेरिका–इरान द्वन्द्व फेरि गम्भीर रूपमा चर्किएको छ ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का हवाई प्रतिरक्षा प्रणाली, रडार, समुद्री सैन्य संरचना, सञ्चार केन्द्र तथा समुद्रमा बारुदी सुरुङ बिछ्याउने क्षमतासँग सम्बन्धित संरचनालाई निशाना बनाइएको थियो ।
इरानी सञ्चारमाध्यमका अनुसार अहभाज, जिरोफ्ट, चाबहार, बन्दर अब्बास, असालुयेह तथा किस्म टापुलगायत क्षेत्रमा विस्फोटका घटना भएका छन् । सिरिकनजिक भएको एक विवाह समारोहमा अमेरिकी आक्रमणबाट पाँच जनाको मृत्यु र ५० जना घाइते भएको इरानी रेड क्रिसेन्टले जनाएको छ ।
जवाफमा आईआरजीसीले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि ठूलो ब्यालिस्टिक मिसाइल आक्रमण गरेको दाबी गरेको छ । तर अमेरिकी अधिकारीहरूले प्रारम्भिक जानकारीअनुसार उक्त आक्रमणबाट अमेरिकी सैनिक हताहत नभएको बताएका छन् ।
इरानले बहराइन र उत्तरी इराकको एर्बिलमा रहेका अमेरिकी सैन्य संरचनामाथि पनि ड्रोन तथा मिसाइल आक्रमण गरेको दाबी गरेको छ । जोर्डनले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका १३ ब्यालिस्टिक मिसाइलमध्ये १० वटा खसालेको जनाएको छ भने बहराइनले पनि इरानी ड्रोन नष्ट गरेको जनाएको छ ।
यस घटनाक्रमसँगै विश्वको प्रमुख तेल आपूर्ति मार्ग स्ट्रेट अफ हर्मुजमा तनाव थप बढेको छ । युद्ध सुरु भएपछि इरानले उक्त जलमार्गबाट हुने तेल ढुवानी प्रभावकारी रूपमा बन्द गरिदिएको छ ।
अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य मंगलबार प्रतिब्यारेल चार डलरभन्दा बढीले बढेर पाँच सातायताकै उच्च बिन्दुमा पुगेको रोयटर्सले जनाएको छ । युद्धअघि विश्वभर खपत हुने प्रत्येक पाँच ब्यारेल तेलमध्ये करिब एक ब्यारेल यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो ।
इरानको आईआरजीसीले स्ट्रेट अफ हर्मुजमा आफ्नो नियन्त्रण अझ कडा बनाउने चेतावनी दिएको छ । इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले इरानलाई फारसको खाडीबाट तेल निर्यात गर्न नदिए अरू कसैलाई पनि तेल निर्यात गर्न नदिने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानलाई जवाफी कारबाही नगर्न चेतावनी दिँदै आक्रमण गरे अझ ठूलो र कडा सैन्य कारबाही गर्ने बताएका छन् ।
पछिल्लो घटनाक्रमले अमेरिका र इरानबीच पछिल्लो समय सैन्य संघर्षभन्दा आर्थिक दबाब र तेल आपूर्तिको गतिरोधमा केन्द्रित हुँदै गएको द्वन्द्वलाई पुनः प्रत्यक्ष सैन्य टकरावतर्फ धकेलेको छ ।














प्रतिक्रिया दिनुहोस्