काठमाडौं, भदौ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित नागरिक संकटमा परिरहेका बेला सरकारको उपस्थिति र प्रभावकारितामाथि प्रश्न उठाउनुभएको छ।
नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि अध्यक्ष ओलीले विपद्का बेला राज्य संयन्त्र प्रभावकारी रूपमा परिचालित हुन नसकेको टिप्पणी गर्नुभएको हो। उहाँले विपद् प्रभावित नागरिकले सरकारको प्रत्यक्ष उपस्थिति र राहतको अनुभूति गर्न नसकेको बताउनुभयो।
अध्यक्ष ओलीले सरकारको प्रभावकारिता पर्याप्त नदेखिएको उल्लेख गर्दै बाढी प्रभावित क्षेत्रमा नागरिकहरू अलपत्र अवस्थामा रहेको बताउनुभयो। उहाँले राहत तथा उद्धारका लागि सरकारी संयन्त्र अझ तीव्र गतिमा परिचालित हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले विपद्को समयमा राहत र उद्धारको सट्टा प्रचारमा बढी ध्यान दिइएको बताउनुभयो। विशेषगरी मन्त्रीहरूले एआईबाट सिर्जित तस्बिरमार्फत आफूहरूले उद्धार गरिरहेको देखाउने प्रयास गरेको भन्दै उहाँले त्यसको आलोचना गर्नुभयो।‘हामीलाई एआई सिर्जित तस्बिरहरूको प्रचार होइन, जनतालाई राहत दिने काम चाहिएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो।
उहाँले एमालेका नेता–कार्यकर्ताले बाढी प्रभावित क्षेत्रमा सक्दो राहत वितरण गर्नुका साथै पुरिएका घरबाट सामान निकाल्ने तथा प्रभावित नागरिकलाई सहयोग गर्ने काम गरिरहेका भन्दै धन्यवाद दिनुभयाे ।
अध्यक्ष ओलीले सरकारलाई राहत, उद्धार र पुनःस्थापनाको कामलाई थप गति दिन आग्रह गर्नुभयाे। विपदबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त संरचना पुनःनिर्माण र विस्थापितको पुनःस्थापनामा सरकारले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ।
बाढीपहिरोबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएपछि आवागमन र दैनिक जनजीवनसमेत प्रभावित भएको छ। यस्तो अवस्थामा सरकारी संयन्त्रको प्रभावकारिता र राहत–उद्धारको गति जनताको प्रत्यक्ष चासोको विषय बनेको छ।














प्रतिक्रिया दिनुहोस्