जनता टाइम्स

२० भाद्र २०८३, शनिबार ०८:३४

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौं, भदौ २० देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। देशका अधिकांश भूभागमा सामान्य बदली रही कोशी, बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका विभिन्न क्षेत्रमा पनि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर बदली रहने तथा हिमाली, पहाडी र तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।