जनता टाइम्स

१४ पुष २०७९, बिहीबार १९:५०

केपी ओलीले पत्तै नदिई बिताइदिए : माधव नेपाल


काठमाडौं, पुस १४ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेबाट र आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डबाट धोका भएको बताउनु भएको छ ।

पार्टीका जनवर्गीय संगठन, उपत्यका र प्रवास कमिटीलाई जुम बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीमा दावी पेश गर्ने अन्तिम दिन पुस १० गतेको घटना सुनाउँदै देउवाले एमालेबाट र आफूले प्रचण्डबाट धोका पाएको बताउनु भयो ।

बैठकमा सम्बोधन गर्दै नेपालले भन्नुभएको छ, ‘एमालेका नेताहरुले मरेकाटे प्रचण्डलाई मान्दैनौं भनेर देउवालाई बालुवाटारमा कुराए, प्रचण्डले मलाई पनि सँगै बालकोट लान्छु भनेर एक्लै बालकोट गए ।’ जुम बैठकमा सम्बोधनको क्रममा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली निकै चतुर खेलाडीको रुपमा गठबन्धनलाई चिप्ल्याइ दिएको पनि बताउनु भएको छ ।

गठबन्धन तोडेर प्रचण्डलाई आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाउन ओली सफल भएकोबारे नेपालको बिश्लेषण उल्लेख गर्दै सहभागी एक नेताले जनताटाइम्स डटकमसँग भने, ‘केपी ओलीको दिमागलाई चाँहि मान्नुपर्छ, ओलीजी म त किनारामा बसेर हेर्ने हो भन्दै थिए, लास्टमा पत्तै नदिई सवैलाई बिताइदिए ।’ यसअघिको हरेक बैठकमा ओलीप्रति गम्भीरु आक्षेप लगाउँदै आउनु भएका नेपालले यस बैठकमा भने ओलीप्रति नकारात्मक कुनै पनि कुरा नगर्नु भएको पनि ती नेताले बताए ।

‘त्यसदिन एकजना एमालेका नेता बालुवाटारमा गएर ‘मरिकाटे पनि प्रचण्डलाई प्रधानमन्त्री मान्दैनौं, तपाईं ढुक्क हुनुस’ भनेका रहेछन । त्यसपछि बीचमा ३ बजे केपी ओली बालुवाटार पुग्ने भनेर खबर लगेछन । अनि पो, देउवाजी हामीसँग प्रचण्डको कुरा ‘हुन्न कि हुन्न’ भन्दारहेछन,’ नेपालले भन्नुभयो, ‘देउवा एमालेहरुको कुराले ढुक्क हुनुभयो । तर, साढे तीन बजिसक्यो । केपीजी आउने छाँटकाँट छैन । ट्राफिकलाई बुझ्न लगाउँदा कोटेश्वर पनि कटेका छैनन । गौशाला पनि कटेका छैनन । अनि, ४ बजे मलाई फोन आयो । कुरा सबै बिग्रिसकेको थियो । हस्ताक्षर भएर पनि राष्ट्रपतिकोमा हिँडिसकेका छन ।’

बैठकमा नेपालले राखेको धारणाअनुसार पुस १० गते कुरा हुँदा देउवाले प्रचण्डलाई प्रधानमन्त्री मान्नुभएन । उपसभापति पूर्णबहादुर खड्काको टीमले भने मानेको थियो तर ज्ञानेन्द्र कार्कीले अस्वीकार गर्नुभयो । त्यसपछि प्रचण्डजी र माधव छतमा गएर आधा घण्टा कुरा गर्नुभयो । ‘प्रचण्डले अब गठबन्धन टुट्छ । कांग्रेसले मान्दैन । के विकल्प हुन्छ, त्यसबारे सोचौं । तपाईं, म र केपी ओली बसौं’ भन्नुभयो । सहमतिसहित हामी निस्कियौं,’ नेपालले भन्नुभयो ।

बालुवाटारबाट फर्किएपछि भने प्रचण्डले आफूलाई धोका दिएको नेपालको आरोप छ । ‘हामीले सचिवालय बैठक बोलायौं । साथीहरुलाई सबै कुरा भन्यौं । मैले रवि लामिछानेलाई फोन गरें । आउनुस भन्दा बालकोट नजिकै पुगें भन्नुभयो । उपेन्द्र यादवजीलाई फोन गरें । आउँछु, प्रचण्डजीलाई पनि बोलाउनुस भन्नुभयो । त्यसपछि राजेन्द्र लिङ्देनलाई फोन गरें, उहाँ बालकोट पुगिसक्नुभएछ,’ नेपालले भन्नुभयो, ‘प्रचण्डजी बालुवाटारबाट निस्किएर आफ्नो घरमा जानुभएछ । त्यहाँ एक घण्टा बस्नुभयो । कतै शेरबहादुरको फोन आउँछ कि भनेर बस्नुभयो । तर, फोन आएन । अनि, केपीले प्रचण्डलाई बोलाउनुभयो । उहाँले बालकोटमा बोलाउँदा प्रचण्डले त्यहाँ त आउँदिनँ भन्नुभएछ । केपीजीले ‘किन नआउने, यहाँ आउँदा के हुन्छ ? आउनुस’ भन्नुभएछ ।’

अनि, मलाई शेरबहादुरले ४ बजे फोन गर्नुभयो । आउनुस, तपाईंलाई प्रधानमन्त्री बनाऔं, त्यसपछि प्रचण्डजीलाई बनाऔं भन्नुभयो । मैले ‘अब सबै कुरा बिग्रिएपछि केही हुँदैन’ भनें ।

नेपालले प्रधानमन्त्री बनेपछि प्रचण्डसँग आफ्नो निकै ककिकडाउ कुराकानी भएको पनि सुनाउनु भएको छ । ‘मैले प्रचण्डलाई साँझ फोन गरेर बधाई भनें । उहाँले ‘धन्यवाद’ भन्नुभयो । मलाई रिस उठ्यो, ‘केको धन्यवाद ? सोध्नु खोज्नु छैन । यसरी हुन्छ ?’ भनें । भोलिपल्ट शपथ ग्रहण हुने भयो । कीर्तिपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानमा उहाँसँग भेट भयो,’ नेपालको भनाई छ ।