जनता टाइम्स

१६ पुष २०७९, शनिबार १६:५३

माधवलाई राष्ट्रपति दिएर एमाले भित्र्याउने काम हुन्न : प्रदीप ज्ञवाली


काठमाडौं, पुस १६ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माधव नेपाल समुहले गरेको अपराध अक्ष्यम्य भएको भन्दै गल्ती स्वीकार नगरेसम्म माधव समूहलाई स्वीकार गर्न नसकिने बटमलाइन सुनाउनु भएको छ ।

माधवलाई राष्ट्रपति दिएर एमालेमा समाहित गराउन खोजेको भन्दै समाचार आएलगत्तै एमाले पंक्ति तरंगित भएपछि उपमहासचिव ज्ञवालीले यस्तो जानकारी दिनुभएको हो ।

एमाले निकट रिटर्नी फेडरेशनको पहिलो स्थापना दिवसलाई शनिवार सम्बोधन गर्दै ज्ञवालीले जे गरे पनि पार्टी विभाजनको औचित्य कुनै पनि ढंगले पुष्टि नहुने भन्दै त्यो गमभीर गल्ती स्वीकार नगरेसम्म माधव नेपाल नेतृत्वको समूहलाई स्वीकार गर्न नसकिने पार्टीको बटमलाइन सुनाउनु भयो ।

ज्ञवालीले गम्भीर ‘रियलाइजेशन’ बेगर अरू कुनै पनि कुरा सम्भव नरहेको बताउनु भयो । उहाँले माधव नेपाललाई राष्ट्रपति बनाउने कुरा असंभव रहेको बताउनु भयो ।

‘हामीले बिर्सेका छैनौँ र बिर्सने कुरा पनि होइन । एमालेको विभाजन र एमालेलाई सरकारबाट विस्थापन गर्नका लागि गरिएको यावत क्रियाकलाप जस्टिफाइ हुन सक्दैन । हामी पूर्वाग्रह राख्दैनौँ तर गम्भीर रियालइजेशन बेगर अरू धेरै कुरा सम्भव छैन,’ ज्ञवालीभले भन्नुभयो, ‘सरकारलाई विश्वासको मत देऊ भन्ने कुरा, सरकारको दायरा फराकिलो बनाउन एकाध पोर्टफोलियो दिने कुरा स्वाभाविक होला । तर जुन कष्ट र आँधी हुरीका साथ एमालेको डुंगालाई यहाँसम्म ल्याइएको छ, सतिसाल जस्ता कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय हुँदैन, तपाईंहरू तनावमुक्त भएर पार्टी निर्माणमा लाग्नुस ।’