काठमाडौं, पुस १६ । सशस्त्र प्रहरी बलले आचरणसम्बन्धी स्थायी आदेश २०७९ जारी गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिनुभएको निर्देशनलगत्तै सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीहरूलाई कूटनैतिक नियोग तथा विभिन्न राजनैतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचार सहिंता जारी गरेको हो ।
गृहमन्त्री लामिछानेको निर्णयसँगै मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनैतिक दलका नेतृत्वसँग भेट्दा अनिवार्य रूपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएको थियो । यो निर्देशनसँगै सशस्त्र प्रहरी बल नेपालले स्थायी आदेश जारी गरेको जनाएको छ ।
आफूखुसी भेटघाट गर्ने परम्पराको अन्त्य गर्नका लागि आदेश जारी गरिएको सशस्त्र मुख्यालयले जनाएको छ । आचारसंहिता जारी भएसँगै अव भेटघाट गर्नुपरेमा आचारणसम्बन्धी स्थायी आदेशनुसार अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने छ । सशस्त्र प्रहरी कर्मचारीहरुले सरकारी प्रयोजनको लागि भेटघाट गर्नुपर्ने भए संगठनको तर्फबाट सम्बन्धित कर्मचारीको नाममा जारी गरिएको रवानापत्र वा तोक आदेशपत्र साथमा लिई जानुपर्ने छ ।
यसैगरी कूटनैतिक भेटघाटका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी गरिएको कुतनीतिक आचारसंहिता, २०६८ मा उल्लेख भएनुसारको प्रक्रिया पूरा गर्नुपर्नेछ । यसका साथै सशस्त्र प्रहरी बल नेपालले सांगठानिक तथा व्यक्तिगत भेटघाट तथा सम्पर्कका लागि र विभिन्न सञ्चारमाध्यहरूसँग सम्पर्क एवं अन्तर्वार्ताका लागि दुई वटा स्वीकृतिको निवेदन फारमसमेत जारी गरेको छ ।
भेटघाट तथा सम्पर्क सम्बन्धमा राजपत्राङ्कित अधिकृतहरूले फारम अनुसारको निवेदन आफू कार्यरत कार्यालबाट सिलसिलेवार रुपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमार्फत सशस्त्र प्रहरी महानिरीक्षकबाट स्वीकृति लिनुपर्नेछ भने राजपत्र अनङ्कित कर्मचारीहरुले आफू कार्यरत कार्यालय मार्फत सिलसिलेवार मानवश्रोत विभाग प्रमुखको स्वीकृति लिनुपर्नेछ । सो स्वीकृतिको जानकारी मानवश्रोत प्रमुखले सशस्त्र प्रहरी महानिरीक्षकलाई गराउनु पर्ने प्रावधान पनि राखिएको छ ।













प्रतिक्रिया दिनुहोस्