जनता टाइम्स

१६ पुष २०७९, शनिबार २०:३२

ज्ञानेन्द्र कार्कीमाथि खनिए कांग्रेस नेता अमृत अर्याल


बिराटनगर, पुस १६ । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा पराजित नेता अमृत अर्याल पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीमाथि खनिनु भएको छ । उहाँले आफू हारेको दोष आफ्नै समुहका नेता कार्कीमाथि लगाउँदै कडा आक्रोश पोख्नुभएको हो । संसदीय दलको नेतामा उम्मेदवारी दिनुभएका कांग्रेस केन्द्रीय सदस्य अर्यालले शुक्रबार भएको निर्वाचनमा २ मतमात्रै पाउनु भएको थियो ।

उहाँले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसका अर्का केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री कार्कीबिरुद्ध खनिनु भयो । मोरङको निर्वाचन क्षेत्र नम्बर ५ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित अर्यालले कार्की लगायतका नेताको असहयोगका कारण आफू पराजित हुनु परेको आरोप लगाउनु भयो ।

‘पार्टीका केही नेता लागेर मलाई हराए। मेराविरुद्ध कार्कीले गरेका डिजाइन र गतिविधिको प्रमाण नै छ । भ्वाइस रेकर्ड पनि छ,’ अर्यालले भन्नुभयो, ‘समय आएपछि त्यसलाई सार्वजनिक गर्ने छु । अरु पनि नेताहरु मलाई हराउन लागेका थिए । सबैको नाम लिन चाहन्न ।’ उहाँले कार्कीले भने आफूलाई हराउन भूमिका खेलेको प्रमाण नै रहेको दाबी गर्नुभयो ।

‘मलाई संघमा उठ्ने इच्छा थियो । तर, पार्टी सभापति शेरबहादुर देउवा लगाएका नेताबाट प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन आयो। सबैले प्रदेश सम्हाल्नुपर्छ भन्ने सल्लाह दिए,’ अर्यालले भन्नुभयोे, ‘त्यसलाई स्वीकार गर्दै संघ छाडेर प्रदेशमा आएको मलाई जनताले चुनाव पनि जिताए। घटनाक्रम अनुसार गठबन्धनकै सरकार बन्ने परिस्थिति थियो। तर, व्यवस्थापन पक्ष मिलाउन नसक्दा गठबन्धन टुटेर त्यो अवस्था रहेन ।’ अर्यालले एक्कासी गठबन्धन टुट्नुको दोष पनि कार्कीमाथि नै लगाउनु भयो ।

प्रवक्ता भएको हिसाबले गठबन्धनलाई जोगाउन नसक्नुको जवाफ कार्कीले दिनुपर्ने उहाँको जिकिर छ । ‘गठबन्धन टुट्नुमा कार्कीजति जिम्मेवार अरु हुनै सक्दैनन्। किनभने उहाँ प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो। व्यवस्थापलगायतको सबै जिम्मेवारी लिएर बस्नु भएको थियो,’ अर्यालले भन्नुभयो, ‘गठबन्धन र सरकार गठनका बारेमा प्रधानमन्त्री (देउवा)लाई गलत ‘ब्रिफिङ’ गर्ने काम भयो। प्रधानमन्त्रीलाई सही तरिकाले ‘गाइड’ गर्न सकेको भए गठबन्धन टुट्ने थिएन। मन्त्रीदेखि लिएर संवैधानिक निकायमा नियुक्ति गर्न पाउने अवसर हामीलाई मिल्ने थियो।’

संसदीय दलको नेतामा आफू पराजित हुने र आफ्नो माहोल बिग्रिएको कुरा ४ दिनअघि नै थाहा पाएको पनि उहाँले बताउनु भयो । ‘दलको नेता बन्न माथिबाटै असहयोग हुने बुझेपछि ४ दिनअघि मैले ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटें । उम्मेदवार बन्ने आवश्वासन लिएर फर्किएँ,’ अर्यालले भन्नुभयो, ‘दलको नेता बन्ने भएपछि जनतामा पनि एउटा आशा पलाएको थियो। तर, असहयोग गरेर हराउने काम भयो।’ उहाँका अनुसार प्रत्यक्ष चुनाव जितेर आएकालाई जनताले दलको नेता भएको हेर्न चाहेका थिए।

चुनाव हार्ने थाहा हुँदाहुँदै पनि षडयन्त्रकारीको भाण्डाफोर गर्न आफू उम्मेदवार बनेको अर्यालले बताउनु भयो । ‘जित्नका लागि म उठेको हैन। मेरो उम्मेदवारी विद्रोहको प्रतीक हो, कार्यकर्तामाथि भइरहेको अन्यायविरुद्ध मसाल उठाएको हुँ। यस्तो अन्याय कांग्रेसमा मात्रै हैन, अरु पार्टीमा पनि हाबी छ,’ अर्यालको भनाई छ ।

अर्यालले पराजित हुने निश्चित भएका बेला पनि दलको नेतामा उम्मेदवारी दिएर पार्टीभित्रको अन्यायविरुद्ध प्रतिकात्मक झण्डा उठाएको दाबी दुई मत मात्र पाउनु भएका अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनीताकुमारी गुरुङ हुनुहुन्थ्यो । तीमध्ये गुरुङले मत नदिएको अर्यालले बताउनु भयो ।