जनता टाइम्स

१९ पुष २०७९, मंगलवार १४:०८

राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति अध्यक्षमा पुनः केबी उप्रेती चयन, यी हुन नवनिर्वाचित सञ्चालक


ललितपुर, पुस १९ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।

आगामी ४ वर्षे कार्यकालका लागि केबी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको निर्वाचन उप–समितिका संयोजक सुमन पौडेलले बताउनु भयो ।

सञ्चालक समिति सदस्यमा प्रदेश १ बाट महेन्द्रकुमार गिरी, मधेस प्रदेशबाट विश्वनाथ मण्डल, वागमती प्रदेशबाट रामहरि बजगाईं, गण्डकी प्रदेशबाट रामबहादुर जीसी, लुम्बिनी प्रदेशबाट विजया धिताल, कर्णाली प्रदेशबाट कालीबहादुर महतारा र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा चयन हुनुभएको छ ।

त्यसैगरी खुल्ला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, ध्रुवराज विष्ट, मनोजकुमार थापामगर चयन हुनुभएको छ । यस्तै महिला सञ्चालकहरूमा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा चयन हुनुभएको छ । लेखा सुपरिवेक्षण समिति सदस्यहरूमा केशवप्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली चयन हुनुभएको छ ।

नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूलाई निर्वाचन उपसमितिका संयोजक सुमन पौडेलले पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।

कार्यक्रममा बैंकका सल्लाहकार तथा पूर्वमन्त्री केशवप्रसाद बडाल सल्लाहकार तथा पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटा, सल्लाहकारहरू कमल चौलागाईँ, राधा घले, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष तथा बैंकको लेखा सुपरिवेक्षण समितिका निवर्तमान सदस्य मित्रराज दवाडी, सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डित, पूर्वसञ्चालक डिल्ली तिवारी, सुर्यविनायक नगरपालिकाकी उपमेयर तथा बैंकको पूर्वसञ्चालक सरिता भट्टराई, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्वअध्यक्ष ऋषिराज घिमिरेलगायतले नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई बधाई तथा शुभकामना दिनुभएको छ ।