जनता टाइम्स

२७ श्रावण २०७६, सोमबार १४:१०

स्वास्थ्य अवस्थाबारे पत्रकारलाई प्रधानमन्त्री ओलीको जवाफ : मलाई ठीक छ, हेर्नाेस अनुहार


काठमाडौं, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताउनुभएको छ । सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय बिमानस्थलमा संक्षित्प प्रतिक्रिया दिँदै सो जानकारी दिनुभएको हो ।

‘मलाई ठीक छ, हेर्नाेस तपाईहरु पनि,’ बिमानस्थलबाट निवास फर्कने क्रममा हिडदाहिँडदै पत्रकारसँग प्रधानमन्त्री ओलीको भनाई थियो । स्वास्थ्य परीक्षण गरी स्वदेश फर्कनुभएको कारण प्रधानमन्त्री ओलीले आज विमानस्थलमा पत्रकार सम्मेलन गर्नुभएन । पत्रकार सम्मेलन नरहेको जानकारी पाएपछि स्वागतको क्रममै पत्रकारले प्रधानमन्त्रीज्यू, स्वास्थ्य अवस्था कस्तो छ भन्दै प्रश्न गरेका थिए, जवाफमा प्रधानमन्त्री ओलीले मुस्कुराउँदै ठीक रहेको प्रतिक्रिया दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) मा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर जानुभएको थियो । प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो ।

उहाँको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो । पछिल्लो समय चिकित्सकको सुझाव अनुसार प्रधानमन्त्री ओली मृगौलाको नियमित परीक्षण गराउँदै आउनुभएको छ । यसपटक पनि चिकित्सककै सुझावमा सिंगापुरमा परीक्षणका लागि जानुभएको हो ।