जनता टाइम्स

१९ पुष २०७९, मंगलवार १८:५०

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस


सुदूरपश्चिम, १९ पुस । आकांक्षी बढी भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस देखिएको छ । संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, शिवराज भट्ट, प्रकाशबहादुर देउवा, मानबहादुर रावल र मेघराज खड्का आकांक्षी हुनुहुन्छ ।

कांग्रेस प्रदेश कार्यसमितिका पदाधिकारी र प्रदेशसभाका सदस्यको उपस्थितिमा आज धनगढीमा बसेको अनौपचारिक बैठकमा संसदीय दलको नेता छनोटका लागि छलफल भएको थियो । कांग्रेस प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह ‘मनु’ले बैठकमा संसदीय दलको नेताका आकांक्षीलाई आपसमा सहमति गरेर दलको नेताको नाम टुङ्ग्याउन आग्रह गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘आकांक्षीलाई आजै सहमति गर्नुस् भनेका छौँ, सहमति भएन भने भोलि निर्वाचन प्रक्रियामा जान्छौँ भनेका छौँ ।’ सुदूरपश्चिम प्रदेशसभामा अन्य राजनीतिक दलले आफ्नो पार्टीको संसदीय दलको नेता छनोट गरिसकेका छन् । ठूलो दल कांग्रेस भने आजसम्म दलको नेता छनोट गर्ने विषयमा अलमलमै छ । प्रदेशसभामा नेकपा एमालेले राजेन्द्रसिंह रावल, नेकपा माओवादी केन्द्रले खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र नेकपा एकीकृत समाजवादीले दीर्घबहादुर सोडारीलाई पार्टीको संसदीय दलको नेता छनोट गरिसकेको छ ।

५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्रका एक/एक जनाको प्रतिनिधित्व छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भइसकेको छ ।