जनता टाइम्स

२० पुष २०७९, बुधबार १७:०९

आठ दिनमै सचिवले फसाइदिए गृहमन्त्री, दुवै प्रहरी हेडक्वार्टरमा छायो आतंक


काठमाडौं, पुस २० । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा खटाइएका घुमुवा टोलीको बिवरण माग्नुभएको छ । प्रहरीले सूचना संकलनका लागि सुराकीका रुपमा खटाउने प्रहरीकै बिवरण माग्ने निर्णय गृहमन्त्री लामिछानेले गर्नुभएको हो ।

गृह मन्त्रालयले अहिलेसम्म घुमुवा टोलीको बिवरण मागेको थिएन । तर गृहमन्त्री लामिछानेले पुस १८ गते दुवै प्रहरी संगठनले खटाएका सादा पोशाक (घुमुवा) का रुपमा परिचालिन प्रहरी कर्मचारीको बिवरण माग्ने निर्णय गर्नुभएको हो ।

सूचना संकलन र अपराधी पत्ता लगाउने प्रयोजनका लागि खटाइएका ती कर्मचारीको बिवरण दिन नमिल्ने प्रहरी अधिकारीहरुको भनाई छ । तर मन्त्रीको निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव गोबिन्दप्रसाद रिजालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मुख्यालयलाई पत्र पठाउँदै ३ दिनभित्र घुमुवा टोलीको बिवरण मन्त्रालय पठाउन निर्देशन दिनुभएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा घुमुवाको दरवन्दी नै छैन । सादा पोशाकमा खटाइने प्रहरीलाई नै घुमुवाको रुपमा परिचालिन गर्ने गरिएको छ । नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालयमै अपराध अनुसन्धान ब्यूरो, विशेष व्यूरो र अपराध महाशाखामा सादा पोसाकमा प्रहरी कर्मचारी खटाउने गरेको छ । सशस्त्र प्रहरी इन्टेलीजेन्स व्यूरोमा कार्यरत सशस्त्र प्रहरीलाई सादा पोशाकमा खटाउने गरेको छ ।

यसबाहेक कार्यालय प्रमुखले पनि आवश्यक सुचना संकलनका लागि सादा पोसाकमा प्रहरी खटाउने गरेका छन । सूचना संकलन र सुराकीको काममा प्रयोग हुने जनशक्तिको बिवरण यसअघि कहिल्यै माग्ने गरेको थिएन । तर यसपटक गृह मन्त्रालयले घुमुवा प्रहरीको विवरण मागेपछि भने दुवै प्रहरीलाई संकट परेको छ । गृहमन्त्री लामिछानेलाई यस्तो बकवास निर्णय गराउन गृहसचिव बिनोद प्रकाश सिंहले नै उक्साउनु भएको गृहकै कर्मचारीको भनाई छ ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहनुभएकी कांग्रेस नेतृ आरजु राणा देउवालाई रिझाएरु गृहमा आउनु भएका सचिव सिंहले गृहमन्त्रीलाई गलत सल्लाह दिएर फसाएको ती सहसचिवको भनाई छ । ‘मन्त्रीले केही गरौं भन्ने सोच राख्नुभएको छ, तर सचिवज्यूले गर्नै नहुने काम गराएर फसाइ दिनुभयो,’ जनताटाइम्स डटकमसँग ती सहसचिवले भने । उनका अनुसार सचिव सिंहले गृहमन्त्री फसाउने रणनीतिसहित आरजुकै योजनामा यस्तो सूचना माग्ने निर्णय गराउनु भएको हो ।

गृह मन्त्रालयको यो निर्णयप्रति प्रहरी अधिकृतहरुले गम्भीर आपत्ति जनाएका छन । जनताटाइम्स डटकमको सम्पर्कमा आएका करिव आधा दर्जन प्रहरी अधिकृतहरुले ‘गर्नै नहुने काम मन्त्रालयबाट भएको र सूचना संकलनका लागि सुराकीको रुपमा खटाएको ब्यक्तिको नाम दिनै नमिल्ने’ बताए ।

‘गृहमन्त्रीले परिणाम पो खोज्ने हो, सूचना संकलनका लागि खटाएको ब्यक्तिको नाम माग्ने होइन, अहिलेसम्म यस्तो गलत काम भएको छैन,’ ती अधिकृतले भने । गृहमन्त्रीको यो निर्णयपछि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल दुवै तनावमा परेको समेत प्रधान कार्यालयमा कार्यरत अधिकृतहरुको भनाई छ ।

‘प्रहरीमा घुमुवा भन्ने दरवन्दी नै हुन्न, कतिपय काममा गएका प्रहरीलाई पनि घुमुवा भन्ने चलन छ तर उनीहरुको विवरण हामीले संगठनमा चुस्तदुरुस्त राखेका हुन्छौं,’ नेपाल प्रहरीका अर्का अधिकृतले भने । उनका अनुसार नाम दिनुपरेको अवस्थामा कसैले काम नगर्ने बताए । ‘नाम दिनुपर्ने अवस्था आएमा उनीहरुले मात्र होइन, अव अरुले पनि काम गर्न मान्दैनन,’ ती अधिकृतको भनाई छ । सहसचिव रिजालले मंगलवार नै दुबै प्रहरी संगठनलाई हिजो लेखेको पत्रमा सादा पोशाकमा परिचालित प्रहरी कर्मचारीहरुको संख्या ३ दिनभित्र उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

‘नेपाल प्रहरी/सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सादा पोशाक (घुमुवा) को रूपमा परिचालित प्रहरी कर्मचारीहरू के कति संख्यामा परिचालित छन ? यसरी खटाइएका प्रहरीहरू मापदण्डबमोजिम परिचालित हुन वा होइनन् ? यस सम्बन्धी हालको अवस्था के कस्तो छ र खटिएका प्रहरीहरु कति अवधिदेखि खटाइएका हुन ? आलोपालो बदलीको अवस्था के छ साथै कसको मातहतमा कसरी खटाइदै आएको छ ? संघ, प्रद्येश र जिल्लागत रुपमा उल्लिखित बिवरणहरु ३ (तीन) दिनभित्र उपलब्ध गराइ दिनु हुन (माननीय उपप्रधान मन्त्री तथा गृहमन्त्रीस्तर) मिति २०७९/०९/१८ को निर्णयअनुसार अनुरोध छ,’ रिजालको हस्ताक्षर रहेको पत्रमा भनिएको छ ।