जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार ०८:०५

पाँच महिनादेखि अस्पतालमै पूर्वसभासद साहको बच्चा : भेट्न आउँछिन तर लैजान्नन घर


ललितपुर, साउन २८ । पूर्वसभासद् गायत्री साहको बच्चा पाँच महिनादेखि अस्पतालमै छाडेकी छन । फागुन २८ गते मेडिसिटी अस्पताल भैंसेपाटीमा छोरो जन्माएकी शाहले अहिलेसम्म बच्चालाई आफ्नो साथमा नलगेकी हुन ।

बच्चा जन्मिएपछि डाउन सिन्ड्रोम (जीउ नचल्ने) समस्या देखिएको भन्दै साहदम्पतीले बच्चा जिम्मा लिन अस्वीकार गरेको थियो । शाह दम्पत्तिले अहिलेसम्म बच्चा त्यागेको घोषणा गरेका छैनन तर जिम्मा पनि नलिएका हुन । मेडिसिटी अस्पतालका महाप्रबन्धक डा विजय रिमाल बच्चाको अवस्थामा सुधार भई घर लैजान मिल्ने रहेको बताउनु हुन्छ।

‘बच्चाको अवस्था एकदमै राम्रो छ तर आमाबुवाले बेवास्ता गर्दा समस्या भएको छ, उसको शारीरिक परिवर्तन अन्य बच्चाको जस्तै देखिएको छ । शरीरको तौल पनि सामान्य बच्चाको जस्तै बढेको छ,’ रिमालले भन्नुभयो । रिमालका अनुसार आमाले बेवास्ता गरेपछि बच्चाले नर्सलाई आमाजस्तो मान्न थालेको प्रतिक्रिया देखाउन थालेको छ । बच्चामा कुनै जटिलता नभएको भन्दै अस्पतालले पटक–पटक घर लैजान आग्रह गर्दै आएको छ । तर बाबुआमाले लैजान मानेका छैनन ।

डाउन सिन्ड्रोम हुनुमा अस्पतालको लापरवाही रहेको भन्दै साह बच्चाको जिम्मेवारीबाट पन्छिँदै आएकी छन् । अस्पतालले भने बच्चा जन्मेपछि मात्र यो रोगको पहिचान हुने भएकाले कुनै त्रुटि नभएको बताउँदै आएको छ । बच्चा जिम्मा लिनुपर्ने दाबीसहित मेडिसिटीका तर्फबाट साहबिरुद्ध जिल्ला अदालत लतितपुरमा मुद्दासमेत दायर गरिएको थियो । मेडिसिटी अस्पताल प्रालिको जाहेरीअनुरूप प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले वैशाखमा साहविरुद्ध मुद्दा चलाएको हो । बच्चा अलपत्र छाडेको भन्दै अस्पतालले जाहेरी दिएपछि साह र उनका श्रीमान् मनोज महतो पक्राउ परेका थिए ।

अस्पतालका नर्सहरुले साह कहिले राति र कहिले बिहान आएर बच्चा भेटेर फर्किने गरेको बताउँछन । ‘उहाँ आएर सीसी क्यामेरा अगाडि उभिनुहुन्छ । माया गरेजस्तो पनि गर्नुहुन्छ । जिम्मा लिने चासो भने देखाउनु हुन्न’, एक ले भनिन ।