काठमाडौं, पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले इतिहास रच्नुभएको छ । प्रतिनिधिसभामा बिश्वासको मत लिने क्रममा नेपालको इतिहासमै सवैभन्दा बढी सांसदको समर्थन प्राप्त गरी प्रधानमन्त्री दाहालले नयाँ इतिहास रच्न सफल हुनुभएको हो ।
प्रतिनिधिसभामा आज भएको मतदानमा प्रधानमन्त्री प्रचण्डले २६८ मत पाउनु भएको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा एक जना सांसद निलम्बित छन । आज भएको मतदानमा कुल २७० सांसदमध्ये प्रधानमन्त्री प्रचण्डले २६८ मत पाउनु भएको हो ।

नेपालको इतिहासमा यति धेरै सांसदको मत पाउने प्रधानमन्त्री प्रचण्ड नै पहिलो हुनुहुन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको योजनामा बनेको प्रचण्ड नेतृत्वको सरकारले यो मत पाएसँगै राष्ट्रिय सहमति कायम भएको छ ।
आज भएको मतदानमा प्रधानमन्त्रीलाई बिश्वासको मत दिनेमा सत्ता गठबन्धनका सात दलसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपादेखि स्वतन्त्र सांसदसमेत रहेका छन ।

प्रधानमन्त्री प्रचण्डको बिपक्षमा भने नेमकिपा र राष्ट्रिय जनमोर्चाका दुई सांसद मात्रै रहेका छन । बिश्वासको मत दिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संगै मतदानका लागि जानुभएको थियो ।
एमाले नेतृत्वको सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन । सात दलले प्रधानमन्त्री बनाएकोमा आज संसदमा बिपक्षी दलले समेत मतदान गरी बिश्वासको मत दिएका हुन ।













प्रतिक्रिया दिनुहोस्