काठमाडौं, पुस ३० । नेकपा (एमाले) का सचिव, सांसद तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै नेपाली कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्षी दल नभएको बताउनु भएको छ ।
कांग्रेसले के उद्देश्य राखेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्ने कुरा माघभित्र सबै छर्लङ् हुने पनि उहाँले बताउनु भयो । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव महासेठले एमालेको प्रयास र माओवादी केन्द्रको समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको बताउनु भयो ।
‘अहिले देशको राजनीति कांग्रेसको मिश्रित चंगुल र दलदलबाट एमालेको प्रयासबाट त्यो राजनीतिलाई बाहिर ल्याईएको छ । यो देश र राष्ट्रियताको लागि ठूलो जरूरी थियो,’ महासेठले अघि भन्नुभयो, ‘एमालेको पहल र माओवादीको सहयोगमा राजनीतिलाई कांग्रेसको दलदलबाट बाहिर निकाल्ने काम भएको छ । यसको रिजल्ट ६ महिनापछि थाहा हुन्छ ।’
महासेठले नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको थियो भन्ने कुरा ६ महिनापछि थाहा हुने सनसनीपूर्ण टिप्पणी गर्नुभयो । ‘अब विस्तारै पर्दा खुल्दै जानेछन,’ महासेठले भन्नुभयो । महासेठले देशको राजनीति हिजोभन्दा (२०७९ साल मंसिर ४ गते सम्पन्न भएको निर्वाचन) भन्दा अघिको स्थिति र अहिलेको स्थितिमा धेरै फरक रहेको पनि दाबी गर्नुभयो ।
‘हिजो कांग्रेसले केही मित्रराष्ट्र शक्तिहरुको भरमा यहाँका साना–साना पार्टीलाई मिलाएर देशलाई एउटा अलग बाटोमा लगेको थियो, जुन बाटोमा जाने प्रयास भएको थियो त्यसलाई एमाले र माओवादीको सहयोगले रोक्ने काम भएको छ । र, आज देशमा ७ दलको सरकार बनेको छ,’ सचिव महासेठले भन्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको नेतृत्वमा सरकार बनिसकेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा÷परिचर्चा बढी नै हुने गरेको पनि उहाँको भनाई छ ।
‘देशी तथा विदेशी शक्तिले यहाँ अझ अहिले बढि खेलिरहेको छ । सबै मित्रराष्ट्रहरुलाई हामीले अनुरोध गरिरहको छौं की– नेपालको भविष्य हामीले बनाउने हो । हामी यहाँको पञ्चशीलमा आधारित परराष्ट्र नीतिअनुसार सम्बन्ध राम्रो बनाउन चाहन्छौं । एमालेको सोच पनि त्यही नै हो । अहिले देश जुनप्रकारले हिजो आर्थिक स्थिति दयनीय अवस्थामा थियो, सामाजिक स्थिति करिब–करिब बिग्रन लागिसकेको थियो, राजनीतिक स्थिति त कुरै छोडौं, नेपालमा योभन्दा पहिलेको सरकारले नेपालीपनले काम गरेको भए त पक्कै राम्रो हुने थियो । देशले हाललाई निकास पाएको छ,’ महासेठले भन्नुभयो ।
उहाँले वर्तमान सरकार बाध्यतात्मक अवस्थामा बनेको उल्लेख गर्दै यसले देश र जनताको अहित हुनेगरि कुनै काम नगर्ने विश्वास दिलाउनु भयो । यद्धपी २०७४ फागुण ३ गते एमाले र माओवादीको एकतापछि बनेको तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारजस्तै काम यो सरकारले गर्न भने नसक्ने उहाँको ठोकुवा छ ।
उहाँले भन्नुभयो, ‘त्यो राष्ट्रवादी र वापमन्थीहरको सरकार थियो । त्यति काम त यो सरकारले गर्दैन् । यो सरकारमा विभिन्न विचारधारा भएकाहरुको सहभागिता छ, सबैको सल्लाह लिएर यो सरकार अघि बढिरहेको छ । ०७४ कै सरकारजति यो सरकारसँग अपेक्षा गर्न सकिँदैन् । तर, हिजोको कांग्रेस सभापति शेरबहादुर देउवाजीको सरकारभन्दा यो सरकारले वास्तवमा धेरै राम्रो काम गर्नसक्छ । त्यसको सुरूवात भैसकेको छ।’
महासेठले सरकार गठन भएको ७ दिनभित्रै मुलुकको आर्थिक स्थिति, सेयर बजार र बैकिङ क्षेत्रतर्फ अलिकति सुधार भएको महशुस जनताले पनि गरेको बताउनु भयो । ‘यो सुरूवात हो, आशा गरौं योभन्दा अझै राम्रो काम यो सरकारले गर्नेछ । यो बाध्यात्मक अवस्थामा बनेको सरकार हो, कति काम गर्न सक्छ, त्यो त भविष्यले नै देखाउँछ,’ उहाँले भन्नुभयो ।
उहाँले वर्तमान सरकार पाँचै वर्षनै टिक्ने पनि बताउनु भयो । ‘यो सरकार किन ५ वर्ष टिक्छ भने यसमा एमाले छ, हामी सरकारमा सम्मिलित भएर नीति बनाउँछौं । एमालेकै नीति तथा कार्यक्रम त्यहाँ लागु हुन्छ भन्ने कुरा पनि होईन, यो एकप्रकारको गठबन्धनकै सरकार हो । हामी ठूलो घटक भएकोले चिन्तित त्यसप्रति हुन्छौं । यो सरकारले राम्रो काम गरे, सबैले जस पाउनेछ । नराम्रो काम गरे अपझस एमालेले बोक्नुपर्छ । यसबारे हामी सचेत छौं । हामी सरकारका सबै गतिविधि सुक्ष्म ढंगले हेरिरहेका छौं । सरकारबाट देश र देशवासीको लागि अनि राष्ट्रियताको नराम्रो नहोस भन्ने कुरामा हामी बढि सचेत छौं,’ महासेठले भन्नुभयो ।
उहाँले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकोमा धन्यवाद दिनुभयो । उहाँले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै कांग्रेस अब प्रतिपक्ष नभएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्