जनता टाइम्स

१ माघ २०७९, आईतवार १२:०३

पोखरामा बिमान दुर्घटना : ३० जनाको शव भेटियो, जिवितै भेटिने सम्भावना देखिएन


पोखरा, माघ १ । पोखरामा आज बिहान यति एयरलाइन्सको बिमान दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अहिलेसम्म घटनास्थलबाट ३० जनाको शव फेला परिसकेको छ।

अन्यको खोजी भइरहेको उहाँले बताउनु भयो । केसीले दुर्घटनाग्रस्त बिमानमा कोही जिवित भेटिने हुने सम्भावना नरहेको पनि बताउनु भयो ।जिल्ला प्रहरी प्रमुख अजय केसीका अनुसार पौने १२ बजेसम्म बिमानमा लागेको आगो पूर्णरुपमा निभाउन सकिएको छैन। शवहरू डढेको अवस्थामा फेला परेका छन । दुर्घटनाग्रस्त बिमानमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए।

पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जहाजमा आगो लागेको हो । पोखरा महानगरपालिका वडा नम्बर १५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको हो । दुर्घटना भएको १० मिनेटपछि बिमानबाट ठूलो आगोको मुस्लो निस्केको थियो ।