जनता टाइम्स

२ माघ २०७९, सोमबार ०७:४३

सुदूरपश्चिममा सभामुखको निर्वाचन आज फेरि


धनगढी, २ माघ । लगातार दुई पटकको निर्वाचनले सभामुख छनोट गर्न नसकेपछि तेस्रो पटक सोमबार निर्वाचन हुँदै छ । सुदूरपश्चिम प्रदेश सभाको सभामुख छान्न सोमबार बिहान ९ बजे निर्वाचन तोकिएको छ ।

सभामुखमा सत्ता साझेदार दलबाट नेकपा ९माओवादी केन्द्र०का भीमबहादुर भण्डारी उम्मेदवार हुनुहुन्छ । प्रतिपक्ष दलबाट नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ ।

सभामुख छानिन ५३ सदस्यीय प्रदेश सभाको ५१ प्रतिशत अर्थात् २७ मत पाउनुपर्छ । सत्ता पक्षसँग २९ मत भए पनि पहिलो निर्वाचनमा एक मत बदर र दुई जना प्रदेश सभा सदस्य अनुपस्थित भएपछि सभामुखमा कोही छानिन सकेको थिएन । दोस्रो निर्वाचनमा सत्ता साझेदार दलकै नागरिक उन्मुक्ति पार्टीका सातै जना प्रदेश सभा सदस्य तटस्थ बस्दा सभामुख चयन हुन सकेको थिएन ।

सत्ता साझेदार दलको पक्षमा नेकपा (माओवादी केन्द्र) ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक गरेर २९ प्रदेश सभा सदस्य छन् । प्रतिपक्षसँग नेपाली कांग्रेका १९, नेकपा (एकीकृत समाजवादी)का चार र स्वतन्त्रका एक जना गरेर २४ जना छन् तर पहिलो पटक सभामुखको भूमिका रहेका कांग्रेसका शिवराज भट्टले मतदान नगर्दा रावलले २३ मत पाउनुभयो ।