जनता टाइम्स

२ माघ २०७९, सोमबार १७:३९

नेताका अघिपछि लागेर फोटो खिचाउने व्यक्ति अखिलको नेता हुन सक्दैन : एमाले महासचिव


काठमाडौं, माघ २ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी नेताका अघि पछि लागेर फोटो खिचाउने व्यक्ति अखिलको नेता हुन नसक्ने बताउनु भएको छ ।

स्ववियु निर्वाचनका सन्दर्भमा एमाले भातृ संगठन अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले आसन्न स्ववियु निर्वाचनमा ल्याउने नतिजाले नेताहरुको मुल्यांकन हुने भन्दै चुनावमा खटिन निर्देशन पनि दिनुभयो ।

‘नेताका अघि पछि लागेर फोटो खिचाउने व्यक्ति अखिलको नेता हुन सक्दैनन,’ अनेरास्वबियुका पूर्वअध्यक्षसमेत रहनुभएका एमाले महासचिव पोखरेलले भन्नुभयो, ‘तपाईहरुको परीक्षा अब हुँदैछ । नेताका अघिपछि फोटो खिचाउने र पोस्ट गर्दै हिड्ने अखिलले स्ववियु चुनावमा कसरी खट्छ रु त्यसको मुल्यांकन हुनेछ । उसले संगठनलाई जिताउन कति भूमिका खेल्छ त्यो अखिल हो ।’

पोखरेलले अनेरास्ववियु भनेको विद्यार्थीबाट निर्वाचित संस्थाहरुको प्रतिनिधि संगठन भन्दै स्ववियु निर्वाचनमा सबैको भूमिकाको मुल्यांकन हुने उहाँको भनाई छ । त्रिविले चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ ।

महासचिव पोखरेलले अचेल एमाले र एमालेका भातृ संगठनहरुमा ३६४ दिन एमाले हुने र चुनावको दिन विचलित बन्ने प्रवृति निकै मौलाएको पनि बताउनु भयो । अव त्यस्ता कार्यकर्ता एमालेलाई नचाहिएको भन्दै पोखरेलले जो जहाँ जिम्मेवारीमा छ, उसको भूमिकाको मुल्यांकन चुनावमा हुने भएकाले अखिलको मुल्यांकन स्ववियु चुनावमा हुने बताउनु भयो ।