काठमाडौं, माघ ३ । नेकपा एमालेले एक तिहाई महिलालाई मन्त्री बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकारमा एमालेले आफ्नो भागमा परेको ८ मन्त्री र एक राज्यमन्त्रीमध्ये ३ जना महिलालाई मन्त्री बनाएर एक तिहाई पुर्याएको हो ।
एमालेबाट प्रत्यक्षतर्फ निर्वाचित पोलिटब्यूरो सदस्यद्वय ज्वालाकुमारी साह, भगवति चौधरी तथा राष्ट्रियसभा सदस्य डा. बिमला राई पौडेललाई मन्त्री बनाउने निर्णय गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले एक तिहाई महिलालाई सरकारमा पठाउने निर्णय लिनुभएको हो ।
एमालेले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकबाट निर्वाचित गर्दा पनि एक तिहाई महिलालाई निर्वाचित गरेको थियो । निर्वाचन आयोगले १९ जना महिला उम्मेदवारको नाम पठाए पुग्ने सूचना दिए पनि एमालेल २२ जना निर्वाचित गर्ने नाम पठाएर एक तिहाई पुर्याएको थियो । मन्त्रीमा पनि आफ्नो पार्टीको भागमा परको कोटाअनुसार एक तिहाई सहभागी गराइएको हो ।
एमाले अध्यक्ष ओलीको योजना र पहलकदमीमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट उपाध्यक्ष बिष्णु पौडेलले प्रधानमन्त्रीपछिको पहिलो बरियतामा रहने गरी उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारीसहित नेतृत्व गर्नुभएको छ । एमालेबाट सरकारमा सहभागी हुनुभएका भगवती चौधरी सुनसरी ३, पदम गिरी पर्वत, हरि उप्रेती सर्लाही ३ बाट निर्वाचित हुनुभएको हो ।
यस्तै ज्वालाकुमारी साह बारा ३, राजेन्द्र राई धनकुटा, दामोदर भण्डारी बैतडीबाट निर्वाचित हुनुभएको हो भने बिमला राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत सांसद हुनुहुन्छ । उहाँको कार्यकाल एक बर्ष रहेको छ । बिमलाले मन्त्रीको सपथ लिएसँगै राष्ट्रियसभाका २ जना सदस्य मन्त्री बनेका छन । यसअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नियुक्त हुनुभएको छ ।
राप्रपाले भने उपप्रधानसहित ३ मन्त्रालय र ४ मन्त्री छान्दा एक जना पनि महिलालाई समावेश गरेन । चारै जना पुरुष प्रत्यक्षतर्फ निर्वाचित नेतालाई मन्त्री पठाएको हो ।













प्रतिक्रिया दिनुहोस्