काभ्रेपलाञ्चोक, साउन २९
काभ्रेपलाञ्चोकको भुम्लुका माझी समुदायले गाउँपालिकाले बोलपत्र आह्वान गरी नदीको बालुवा उत्खनन दिँदा आफूहरुको पेशा नै सङ्कटमा परेको भन्दै सो बोलपत्र रद्द गर्न माग गरेका छन् । गाउँपालिका प्रमुख गुमानध्जव कुँवरलाई ज्ञापनपत्र बुझाउँदै त्यहाँका माझी समुदायले ठेक्का रद्द गर्नुपर्ने माग गरेका हुन् । पालिकाले बोलपत्र आह्वान गरेपछि आदिवासी जनजातिअन्तर्गत अति सीमान्तकृत माझी समुदाय आन्दोलित भएका छन् ।
माझी इम्पावरमेन्ट युथ एशोसिएशन नेपाल काभ्रेका अध्यक्ष होमराज माझीले नदीको बालुवा उत्खनन गरेपछि आफ्नो समुदायको रोजगारीमा सङ्कट आएको कारण आन्दोलित हुनुपरेको बताउनुभयो । “हामीले पहिलोचोटी ¥यालीसहित गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरलाई ज्ञापनपत्र बुझाएका छौँ” उहाँले भन्नुभयो, “सो ज्ञापनपत्रलाई बेवास्ता गरिएमा सङ्घर्षमा जान बाध्य हुनेछौँ ।”
भुम्लु गाउँपालिका–८ का स्थानीय बासिन्दा लालुमाया माझीले आफूले सुनकोशी नदीमा बालुवा निकाली चालेर बेच्दै आफ्नो परिवार धान्दै आएको बताउने उहाँले पछिल्लो समय गाउँपालिकाले बगर ठेक्कामा दिएपछि आफूहरूले बालुवा निकाल्न नपाएको बताउनुभयो । उनीहरुले पुख्यौली पेशा लोप भएपछि वैकल्पिक पेशाको रुपमा अपनाइएको बालुवा निकाली बेच्ने कामसमेत मेशिन लगाएर निकाल्न थालेपछि जीउनसमेत गाह्रो भएकाले ज्ञापनपत्र बुझाएर गाउँपालिकालाई ध्यानाकर्षण गराएको एशोसिएशनका अध्यक्ष जीवनकुश माझीले बताउनुभयो ।
संविधानमा उल्लेखित प्राकृतिक स्रोतको पहिलो अधिकार स्थानीयको हुने व्यवस्थालाई लागू गर्नको लागि माग गरेको बताउँदै उहाँले आफूहरु देशको कानून विरोधी नभएको तर बोलपत्र आह्वान गर्दा त्यो ठेक्का आफूहरुलाई दिनुपर्ने माग गरेको उल्लेख गर्नुभयो । पछिल्लो समयमा पुख्र्यौली पेशा त लोप भइसक्यो, नदीमा माछा मारेर र डुङ्गा चलाएर खाने काम पुलपुलेसा निर्माणपश्चात लोप भइसकेपछि बगरमा बालुवा निकाल्ने, गिट्टी कुटेर आफ्नो परिवार धान्दै आएका माझी परिवार गाउँपालिकाले बोलपत्र प्रक्रियामार्फत ठेकेदारलाई सुम्पिने काम भएपछि त्यो पेशा पनि सङ्कटमा परेको उहाँहरुको भनाइ छ ।
गाउँपालिका अध्यक्ष कुँवरले माझी समुदायले बुझाएको ज्ञापनपत्र कार्यपालिकाको बैठकबाट निर्णय गरिने बताउनुभयो । प्रकाशित बोलपत्रको सूचना रद्द नहुने पनि कुँवरको भनाइ छ । भुम्लु गाउँपालिकाले २०७६/७७ को लागि पनि बोलपत्रको सूचना आह्वान गरिसकेको छ । भुम्लु गाउँपालिका वडा नं १, ६, ७, ८ र १० मा गरी एक हजारभन्दा बढी घरधुरी माझी समुदायको बसोबास रहेको छ ।













प्रतिक्रिया दिनुहोस्