जनता टाइम्स

२९ श्रावण २०७६, बुधबार १४:४५

फेरि सर्यो नेकपाको सचिवालय बैठक : स्कूल बिभागसँगै थपियो युवा–बिद्यार्थी इञ्चार्जको लफडा


काठमाडौं, साउन २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि स्थगित भएको छ । पार्टी एकतालाई पुर्णता दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले लगातार गर्नुभएको परामर्श र गृहकार्य निश्कर्षमा पुग्न नसकेपछि आजका लागि बोलाइएको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।

नेकपाले मंगलवार बोलाएको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै आज दिउँसो ३ बजेका लागि बोलाएको थियो । तर आजको सचिवालय बैठक पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको हो । बैठक स्थगित गर्नुअघि अध्यक्ष ओली र प्रचण्डबीच छलफल भने भएको छ । ‘दुवै अध्यक्षले आज पनि तयारी नपुगेको बताउनु भयो, बैठकमा छलफल गरेर निश्कर्ष आउने भन्दा दुई अध्यक्षले सचिवालयका सदस्यहरुसँग परामर्श गरेर सहमतिको प्रस्ताव ल्याउन बैठक आज पनि स्थगित भएको हो, उहाँहरु गृहकार्यमै हुनुहुन्छ,’ सचिवालयका एक सदस्यले जनताटाइम्ससँग भने ।

दुवै अध्यक्षलाई महासचिव बिष्णु पौडेलले गत सचिवालय बैठकको निर्णयअनुसार नेताहरुको रुची बुझेर आफ्नो प्रतिवेदन दिइसक्नु भएको छ । अध्यक्ष ओली र प्रचण्डले सोही रुचीअनुसारको प्रतिवेदनमा आधारित भएर सचिवालयमा निर्णायक प्रस्ताव लैजाने अन्तिम तयारी अघि बढाउनु भएको हो । ‘एकतालाई पूर्णता दिने निर्णायक प्रस्ताव निर्माणमा दुवै अध्यक्ष लाग्नुभएको छ, त्यसैका लागि दुवै अध्यक्षले पूर्वएमाले र पूर्वमाओवादीतर्फका नेताहरुसँग समेत छट्टुाछुट्टै परामर्श गर्नुभएको छ,’ सचिवालयका ती नेताले भने । अन्तिम प्रस्ताव तयारीको क्रममा रहेकै कारण आजको बैठक पनि स्थगित गरिएको हो ।

यसअघि मंगलबार पनि बैठक स्थगित भएको थियो । गत साउन १३ गतेपछि नेकपाको सचिवालय बैठक बस्न सकेको छैन । सोही बैठकले साउन २८ गते बैठक बस्न निर्णय गरेको थियो । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरी सिंगापुरबाट फर्किन दुई दिन ढिलाइ हुँदा २८ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो । प्रधानमन्त्री ओली सोमबारै स्वदेश फर्कनुभएपछि दुई अध्यक्षबीच परामर्श भएको थियो । ओली र प्रचण्डले हिजो र आज पनि परामर्श गर्नुभएको छ । तर सहमति जुटन नसकेपछि आज बोलाइएको बैठक बिहीबारका लागि सरेको हो ।

सचिवालय बैठक स्थगित भए पनि दुई अध्यक्षको परामर्श भने जारी राख्नुभएको छ । गत बर्षको जेठ ३ गते पाटीृ एकता भएपनि अहिलेसम्म सवै केन्द्रीय सदस्यको कार्यबिभाजन हुन सकेको छैन भने केन्द्रीय बिभाग, निकाय र जनसंगठनको एकताले पनि पुर्णता पाएको छैन । पार्टी एकता घोषणासभामा दुवै अध्यक्षले तीन महिनाभित्र सवै तहको सांगठानिक एकता टुंगो लगाउने घोषणा गरेपनि नेताहरुले ब्यक्ति केन्द्ति मुद्दा अघि बढाएर योग्यलाई पाखा लगाउने, आफू निकट अयोग्यलाई स्थान दिने रणनीति लिएपछि एकताले पुर्णता पाउन नसकेको हो ।

पछिल्लो समय पार्टी स्कूल बिभागको बिवाद चलेपछि एक दर्जन नेताले सो बिभागको प्रमुखमा दावी गर्नुभएको छ । नेताहरुको सोही दावीका कारण एक महिनादेखि पार्टी एकताले पुर्णता पाउने भाखा टर्दै आएको छ । नेकपाका दुवै अध्यक्षदेखि शीर्ष नेताहरुले अन्तिम पटक असार मासन्तभित्र सकाउने घोषणा गर्नुभएको थियो । तर साउन मसान्त पनि त्यत्तिकै टर्ने छाँट देखिएको छ ।

स्कूल बिभागसँगै केही जनसंगठनको इञ्चार्जको बिषयमा सहमति हुन नसकेको स्रोतले बतायो । स्रोतका अनुसार युवा संघ चलाउन योग्यता राख्ने केन्द्रीय सदस्यलाई इञ्चार्ज बनाउने अध्यक्ष ओलीको योजना रहेपनि केही नेताहरुले आपत्ति जनाएको कारण लफडा देखिएको हो । पार्टी स्कुल विभागको नेतृत्वको सकस पनि अझै सुल्झिएको छैन ।