काठमाडौं, माघ ४ । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले राष्ट्रपति पद मेरा लागि नभएको बताउनु भएको छ । राष्ट्रपतिको विश्वसनियता लोकतन्त्रमा महत्वपूर्ण रहेको भन्दै उहाँले आज पत्रकार सम्मेलनमै यस्तो बताउनु भएको हो ।
१३ करोड रुपैयाँको प्रतिष्ठित इसा अवार्ड पाउने घोषणा भएपछि डा. रुइतले आज आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा पत्रकारहरुले गरेको राष्ट्रपति बनेर नीति निर्माण गर्ने पदमा जानुहुन्छ कि भन्ने प्रश्नको जवाफमा रुइतले आफूले धेरै काम गर्न बाँकी रहेको बताउनु भयो ।
नेपालमा राष्ट्रपति पद आलंकारिक भए पनि त्यसको मानसम्मान राख्नुपर्ने उहाँले बताउनु भयो । ’लोकतन्त्रमा राष्ट्रपतिको विश्वसनियता असाध्यै बढी छ, रबरस्ट्याम्प भए पनि । भारतको राष्ट्रपतिलाई हेर्नुहोस कस्तो सम्मान छ । हामी सबै मिलेर राष्ट्रपतिको त्यो विश्वसनियता र सम्मान कामय गर्नुपर्छ । त्यसमा कमी छ,’ डा. रुइतले भन्नुभयो ।
राष्ट्रपति पद आफ्नो लागि नभएको भन्दै डा. रुइतले आफूले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेको बताउनु भयो । ’यो पद मेरो लागि होइन । मैले आफ्नो सीमा र स्थान बुझेको छु । यही कारणले नै यहाँसम्म आएको हो । मैले दायाँबायाँ गर्ने होइन । सक्नेभन्दा अरु काम गर्दैन, जान्दैन पनि । मैले योभन्दा गर्नुपर्ने काम धेरै छ,’ उहाँले भन्नुभयो ।
आफूले पाएको अवार्ड ठूलो र सम्मानित भएको बताउँदै डा. रुइतले राज्यले पनि त्यसको महत्व बुझ्नुपर्ने बताउनु भयो । जनता खुसी भएको अवस्थामा राज्यले पनि सोही अनुसारको दायित्व पूरा गर्नुपर्ने उहाँको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्