जनता टाइम्स

६ माघ २०७९, शुक्रबार ०८:५०

देउवा–प्रचण्ड इल्युइल्यु र सभामुखको निर्वाचन


एमाले र अध्यक्ष ओलीको हाउगुजी देखाएर माओवादीको मत आफूतिर पार्ने रणनीतिमा रहेको कांग्रेसलाई सत्ता गठबन्धनमा दरार पैदा गरेर फाइदा लिन संभव छैन भन्ने सबक सभामुखको निर्वाचनले दिएको छ । खुरूक्क रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न छोडेर पदको पछि दौडने नेपाली कांग्रेसको वर्तमान कार्यशैली बदनाम र असफल भएको अनुभूति नेपाली कांग्रेसले गरेको हुनुपर्छ । साथै प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको नक्कली इल्युइल्युबाट मुक्त भएर सत्ता गठबन्धन दलको आडभरोसामा सत्ता सञ्चालन गर्न सभामुखको निर्वाचनले बल प्रदान गरेको हुनु पर्दछ 

निर्मल भट्टराई

प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे संघीय प्रतिनिधिसभाको भारी बहुमतबाट निर्वाचित हुनुभएको छ । यो निर्वाचनले सत्तागठबन्धनलाई थप मजबुत बनाएको एकातिर छ भने अर्कोतिर प्रतिपक्षी गठबन्धनले समेत आकार लिएको छ । प्रधानमन्त्रीलाई विश्वासको मतदिएको कांग्रेसले राष्ट्रपति वा सभामुख पद प्रधानमन्त्री प्रचण्डको सहयोगमा पाउने आशलाई समेत यो निर्वाचनले समाप्त गरिदिएको छ । अनेक आशङ्कालाई समाप्त पारिदिएको छ ।

अघिल्लो गठबन्धनमा प्रधानमन्त्रीसहित उल्लिखित पदमा नेपाली कांग्रेसले दाबी नछोडेपछि प्रतिपक्षी दलको रुपमा सशक्त भूमिका निर्वाह गर्ने योजनामा बसेको नेकपा (एमाले) को नेतृत्वमा वर्तमान गठबन्धन बनेको नेपाली राजनीतिको कखरा बुझेका सबैलाई थाहा छ । प्रचण्ड प्रधानमन्त्री बनेपछि केहीदिन नेपाली कांग्रेसले विश्वासको मतमा प्रधानमन्त्रीलाई बहुमत पुग्न नदिन ठूलै कसरत गर्यो । साना पार्टीलाई प्रधानमन्त्री पदको ललिपप देखायो, ओली–प्रचण्डबीच दरार ल्याउने प्रपञ्च गर्यो ।

‘मधेशवादी’ दललाई भड्कायो, आफूले नसक्ने ठाउँमा शक्तिकेन्द्रको दौडधुप बढायो । एक महिना पनि सरकारलाई टिक्न नदिने यो खेलमा कमरेड माधव नेपालको पनि सक्रियता चानचुने थिएन । तर जति गरेपनि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको छोटो गृहकार्यमा बनेको गठबन्धनमा कुनै दरार पैदा भएन, बरु सत्ता गठबन्धन झन कसिलो बन्यो । नेपाली कांग्रेसलाई माधव नेपालको पार्टीबाहेक कसैले पनि विश्वास गरेनन ।

त्यसपछि नेपाली कांग्रेस र उसको सहयोगी माधव नेपालको पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र ओली र एमालेलाई किनारामा पार्ने नयाँ खेल शुरू भयो । झण्डै सिङ्गो संसदको विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्ड हौसिएर आफ्नो डिभोर्स्ड मायालु नेपाली कांग्रेसलाई पनि सत्ता गठबन्धनकै पार्टी सरह व्यवहार गर्न थाल्नुभयो । राष्ट्रपति र सभामुख निर्वाचनलाई अजेण्डा बनाएर सर्वदलीय बैठकसमेत राख्नुभयो । आफूलाई विश्वासको मत दिने कांग्रेसलाई ‘समेट्ने’ बचन दिनुभयो । तर नेपाली कांग्रेसलाई समेट्ने कुनै स्पेस थिएन । औचित्य पनि थिएन ।

सङ्घीय सरकार, प्रदेश सरकार र प्रदेश संसदको नेतृत्व गठबन्धनले सफलतापूर्वक निर्माण गर्यो । केही फरक बजार हल्लाका बाबजुद गठबन्धनका उम्मेद्वार एमाले नेता देवराज घिमिरेलाई संसदले निर्वाचित गरेको छ । यो प्रक्रियालाई अन्यथातर्फ मोड्न खोज्ने छिर्के दाउहरू पानीको फोकासरह भएको छ । सभामुखको निर्वाचनले पदको लागि नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डसँग गरेको अनावश्यक इल्युइल्युको समेत पटाक्षेप भएको छ ।

आगामी महिना देशको सर्वोच्च पद राष्ट्रपतिको निर्वाचन हुँदैछ । सत्ता गठबन्धनले राष्ट्रपति पद एमालेले पाउने सहमति गरेको छ । प्रधानमन्त्री निर्वाचनअगावै भएको यो सहमति कार्यान्वयन हुन नदिन अवाञ्छित चलखेल जारी नै छन । एमाले जस्तो राष्ट्रवादी शक्तिको भागमा राष्ट्रपति पद परेकोले नेपाली कांग्रेसलगायतका पार्टीहरूलाई असैह्य भएको छ । सभामुख निर्वाचनको संसदीय बहसमा नेपाली कांग्रेसका सांसदहरूले गरेको टिप्पणीबाट यो निष्कर्षमा पुग्न सकिन्छ ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको लागि राष्ट्रपतिले संविधानतः खेल्न सक्ने अहम भूमिकाको कारण पनि राष्ट्रपतिको निर्वाचनलाई सर्वत्र चासोको रूपमा हेरिएको छ । नागरिकता विधेयकलगायतका महत्वपूर्ण, संवेदनशील विषयमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले लिनुभएको अडान र कदमले राष्ट्रपति पदको निर्वाचन चर्चाको शिखरमा छ । संघीय संसदका सम्पूर्ण सदस्यहरू र प्रदेशसभाका सम्पूर्ण सदस्यले गोप्य मतदानद्वारा राष्ट्रपतिको निर्वाचन हुने भएकोले गोप्य मतदानमा के होला भन्ने जिज्ञासा जनस्तरमा समेत देखिएको छ ।

वर्तमान सत्ता गठबन्धनको पक्षमा भारी बहुमत हुँदाहुँदै नेपाली कांग्रेसले राष्ट्रपति पदको लालच देखाउनु आश्चर्यजनक छ । त्यो भन्दा बढी आश्चर्यजनक त के छ भने एमालेलाई राष्ट्रपति पद दिनु नहुने भन्दै नेका सभापति देउवा र अरू नेताले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरिरहेका छन !

एमाले र अध्यक्ष ओलीको हाउगुजी देखाएर माओवादीको मत आफूतिर पार्ने रणनीतिमा रहेको कांग्रेसलाई सत्ता गठबन्धनमा दरार पैदा गरेर फाइदा लिन संभव छैन भन्ने सबक सभामुखको निर्वाचनले दिएको छ । खुरूक्क रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न छोडेर पदको पछि दौडने नेपाली कांग्रेसको वर्तमान कार्यशैली बदनाम र असफल भएको अनुभूति नेपाली कांग्रेसले गरेको हुनुपर्छ ।

साथै प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको नक्कली इल्युइल्युबाट मुक्त भएर सत्ता गठबन्धन दलको आडभरोसामा सत्ता सञ्चालन गर्न सभामुखको निर्वाचनले बल प्रदान गरेको हुनु पर्दछ ।