जनता टाइम्स

६ माघ २०७९, शुक्रबार १८:०१

अखिल–युवा संघसहित एमालेका ९ वटै जनसंगठनले तोके महाधिवेशनको मिति र स्थान (सूचीसहित)


काठमाडौं, माघ ६ । नेकपा एमालेका सवै जनसंगठनहरुले चैत्र मसान्तभित्रै राष्ट्रिय अधिवेशन र महाधिवेशन सम्पन्न गर्ने मिति तोकेका छन । धुलिखेलमा सम्पन्न जनसंगठन सुदृढिकरण कार्यशालाको निर्णयअनुरुप चैत्र मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने गरी ९ वटै जनसंगठनहरुले मिति तोकेका हुन ।

जनसंगठन समन्वय संयन्त्रका संयोजक नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले तोकिएको समयभित्रै महाधिवेशन गर्ने गरी सवै जनसंगठनले मिति तोकेको जानकारी दिनुभयो । एमालेका २३ मध्ये ९ वटा जनसंगठनको महाधिवेशन हुन बाँकी रहेको छ ।

संयोजक ढकालका अनुसार अनेरास्वबियुले फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । अनेरास्वबियुकी अध्यक्ष सुनिता बरालका अनुसार राष्ट्रिय सम्मेलनका लागि तयारीका काम तीब्र गतिमा अघि बढाइएको छ । बरालकै नेतृत्वमा सम्मेलन ब्यवस्थापन मुल समिति गठन गरिएको छ । यस्तै खेलकुद महासंघले फागुन ७ देखि ९ गतेसम्म बिराटनगरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

जनसंगठन संयन्त्रको बैठकमा दिइएको जानकारी अनुसार रिटर्नी फेडरेशनले चैत्र ११ र १२ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ । यसैगरी आदीवासी जनजाती महासंघले फागुन १७ र १८ गते काठमाडौंमा महाधिवेशन गर्ने मिति तय गरेको छ ।

यसैगरी पिछडाबर्ग महासंघले चैत्र २२ र २३ गते पर्सामा महाधिवेशन गर्ने भएको छ भने पेशागत महासंघले चैत्र २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तोकेको छ ।

यस्तै अनेमसंघले चैत्र २५ र २६ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । यसैगरी अखिल नेपाल किसान महासंघले चैत्र २६ देखि २८ गतेसम्म नवलपुरमा महाधिवेशन गर्ने निर्णय गरेको छ भने राष्ट्रिय युवा संघले चैत्र २७ देखि २९ गतेसम्म नेपालगञ्जमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

लामो समयदेखि राष्ट्रिय सम्मेलन/महाधिवेशन हुन नसकेको कारण एमालेले चैत्र मसान्तसम्म सवै जनसंगठनको महाधिवेशन गरिसक्ने निर्णय गरेको थियो । सोहीअनुसार सवै संगठनहरुले आफ्नो बैठक राखेर महाधिवेशनको मिति तोकेका हुन ।

१४ वटा जनसंगठनहरुले यसअघि नै महाधिवेशन सम्पन्न गरिसकेका छन । एमालेले अव जनसंगठनलाई आफ्नो क्षेत्रमा केन्द्रित रहेर समस्याको उजागरसँगै समाधानमा लाग्ने गरी परिचालन गर्ने नीति बनाएको छ ।