काठमाडौं, माघ ७ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको भन्दै व्यवसायीमाथि कटाक्ष गर्नुभएको छ । गभर्नर अधिकारीले कर्जा वा ब्याज तिर्नुको साटा नतिरेर यसरी आन्दोलन गर्दा वित्तीय प्रणालीमा नयाँ चुनौती देखिएको बताउनु भयो ।
शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिक साधरणसभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट लिएको कर्जा तिर्नु पर्दैन भन्नु अराजकताको माथिल्लो रुप भएको टिप्पणी गर्नुभयो ।
बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनी संगठित रुपमा दबाब दिन नमिल्ने उहाँको भनाइ थियो । गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौतीहरु देखिएको पनि बताउनु भयो ।
बैंकको अधिकांश कर्जा सार्वजनिक सम्पत्ति र सर्वसाधरणको निक्षेप भएकाले कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता र वित्तीय स्थायित्वमा समस्या आउने उहाँको भनाई छ । व्यवसायीहरूले बैंकको व्याज महंगो भएको भन्दै त्यसविरुद्ध आन्दोलन गरिरहँदा गभर्नर अधिकारीले त्यसप्रति लक्षित गर्दै आन्दोलन रोक्न र कर्जा तिर्न दबाब दिनुभयो ।
गभर्नर अधिकारीले आन्दोलनरत व्यवसायीहरूले अराजक व्यवहार देखाएको भन्दै त्यसप्रति आपत्ति समेत जनाउनु भएको छ । ‘पछिल्लो समय बैंकहरुमा धेरै चुनौती छन । समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौतीहरु देखिएका छन । बैंकहरुबाट ऋण लिने तर त्यो ऋण तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने भनी सङ्गठन गरी संगठित रुपमा बैंकबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने खालका कुराहरु बजारमा आउन थालेका छन् । जुन कुरा एउटा अराजकताको पनि अत्यन्तै माथिल्लो रुप हो,’ गभर्नर अधिकारीले भन्नुभयो ।
उहाँले बैंकको ऋण भनेको सार्वजनिक सम्पत्ति र सर्वसाधरणको निक्षेप हो भन्ने यथार्थ नभुल्न पनि ब्यवसायीलाई चेतावनी दिनुभयो । ‘बैंकको ऋण भनेको सार्वजनिक सम्पत्ति हो । सर्वसाधरणको निक्षेप हो । वाणिज्य बैंकहरुको अधिकांश कर्जा सर्वसाधरणको निक्षेप हो । समग्र वित्तीय क्षेत्रको विश्वानीयता तथा वित्तीय स्थायीत्वको विषयसँग जोडिएको विषय छ,’ गभर्नर अधिकारीले भन्नुभयो ।
उहाँले अराजकता स्वीकार्य नहुने पनि बताउनु भयो । ’म कुनै बैंकबाट ऋण लिन्छु । म ऋण वा ऋणको ब्याज तिर्दिनँ भनेर उभिन मिल्छ ? ऋण स्वीकार गरेर लिएको हो । यस्ता अराजक कुराहरुलाई कसैले पनि प्रश्रय दिनु हुँदैन । यस्ता कुरा वित्तीय अपराध हो । हामी यसमा सजक र सतर्क छौं । त्यस्ता कुराहरु हुने वाला छैनन् । यस्ता कुराहरुले समग्र बैंकिङ प्रणाली, अर्थतन्त्रमा ठूलो असन्तुलन ल्याउँछ । ठूलो व्यथिति ल्याउँछ । ऋण लिएर तिर्नु पर्दैन भनेर कहीँ कतै विकसित भयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ ?’ उहाँको प्रश्न थियो ।
गभर्नर अधिकारीले कृषि विकास बैंक कृषि वित्तीय क्षेत्रमा नयाँ ढंगले जानुपर्ने आवश्यकता पनि औल्याउनु भयो । कृषि क्षेत्रमा पनि आधुनिकीकरण हुँदै गएकाले त्यही अनुसार वित्तीय कारोबारको आवश्यकता भएको उहाँको भनाई थियो । उहाँले कृषि क्षेत्रको विकासका लागि कृषि विकास बैंकले नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।













प्रतिक्रिया दिनुहोस्