जनता टाइम्स

३० श्रावण २०७६, बिहीबार ११:५६

कुकुरले टोकेको घटना लुकाउँदा गयो ज्यान


ललितपुर, साउन ३० । कुकुरले टोकेको घटना लुकाउँदा ललितपुरमा एक किशोरीको अकालमै ज्यान गएको छ । कुकुरले टोकेको घटनालाई बेवास्ता गरी कसैलाई नभन्दा गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया किशोरी मनिषा अर्यालको साउन १९ गते मृत्यु भएको हो ।

आर्थिक अवस्था कमजोर रहेको कारण भाइसहित असहाय बाल घरमा बस्दै आएकी सिन्धुपाल्चोक मेलम्चीकी अर्याल १२ कक्षामा अध्ययनरत थिइन । यसअघि भाइलाई कुकुरले टोक्दा आफै टेकु लगेर रेबिजको सुई लगाएकी मनिषाले आफूलाई टोक्दा कसैलाई नभनेको कारण अकालमा ज्यान गुमाउन बाध्य भएकी हुन ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार अर्यालका बाआमा कपनमा बस्दै आएका थिए । गत जेठ १८ देखि २५ गतेसम्म मनिषा बाआमा भेट्न गोदावरीबाट कपन गएकी थिइन्। कपन गएकै बेला उनलाई कुकुरले टोक्यो । तर उनले यो घटनाबारे कसैलाई जानकारी दिइनन ।

कुकुरको टोकाइबाट घुँडाभन्दा पछाडि थोरै घाउ लागेको थियो । केही दिनमा उनको घाउ निको भयो । साउनसम्म कुनै समस्या देखिएन । साउन १४ गते उनलाई महिनावारी भयो । महिनावारी हुनसाथ ढाड दुख्न थाल्यो । दुखाइ बिस्तारै कम्मरदेखि तलको भागमा फैलियो । अन्त्यमा सास फेर्न नसक्ने अवस्थासम्म पुगिन । दुखाइ कम नभएपछि उनलाई १७ गते मेडिसिटी अस्पताल पुर्याइयो । मेडिसिटीमा पुगेपछि डाक्टरले समस्या बुझ्दै जाँदा उनले कुकुरले टोकेको कुरा सुनाइन । त्यसपछि उनलाई तत्कालै टेकु लगियो । तरसमस्या विकराल भइसकेकाले उनको उपचार हुन सकेन । उनको मृत्यु भयो ।

रेबिजबाट यसरी बच्न सकिन्छ

कुकुर वा बाँदरले टोक्यो भने रेबिजको कीटाणु उनीहरूको र्यालबाट सर्छ । नसाबाट शरीरमा रेबिजका भाइरस पस्छन । एकदमै मन्द गतिमा सर्छ । त्यो भाइरस दिमागमा पुगेपछि बिरामीको मृत्यु हुन्छ । खुट्टामा टोकेको हो भने त्यो सरेर दिमागमा पुग्न समय लाग्छ । तर, घाँटीमा टोकेको हो भने छिट्टै दिमागमा पुग्छ । एन्टिरेबिज सुईले यसलाई रोक्न सक्छ । रेबिज प्राणघातक रोग भएकाले लक्षण देखिइसकेपछि उपचार सम्भव हुँदैन । कुकुरले टोक्नेबित्तिकै धाराबाट बगिरहेको पानीमा राम्ररी पखाल्नु पर्छ । साबुनपानीले र्याल पखाल्दा जान सक्छ । तातोपानीले राम्रोसँग केही मिनेटसम्म धोए पनि ज्यान बच्न सक्छ ।