जनता टाइम्स

११ माघ २०७९, बुधबार १८:२९

कांग्रेस आफू सरकारमा रहिरहनेबाहेक अरु केही सोच्दै–सोच्दैन : ओली


काठमाडौं, माघ ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सधैं सरकारमा सहभागी हुनुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएको ठोकुवा गर्नुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस सरकारमा रहिरहनु पर्छ भन्ने मान्यताको शिकार भएको बताउनु भयो ।

उहाँले आफू ‘सरकारमा सहभागी भए भइगो नि’ भन्ने एउटा मात्रै सूत्र लिएर कांग्रेस हिँड्ने गरेको पनि बताउनु भयो । कांग्रेसले देशबारे चर्चा र चिन्ता गर्न कहिल्यै पनि आवश्यक नठानेको भन्दै उनले कांग्रेसले भन्ने गरेको लोकतन्त्र र विकास भनेको व्यक्तिगत विकास मात्रै भएको पनि उहाँको भनाई छ ।

‘कांग्रेसले देशको बारेमा चर्चा गर्नु, चिन्ता गर्नु आवश्यक नै ठानेन । नेपाली कांग्रेसको एउटा मात्रै सूत्र छ– आफू सरकारमा हुनुपर्छ भइगो नि । त्यही हो लोकतन्त्र । त्यही हो विकास । नेपाली कांग्रेसको सरकार । देशमा लोकतन्त्र, देशमा विकास । त्यही हो,’ ओलीले भन्नुभयो, ‘यदि देशमा सरकार कांग्रेसको छ भने विकास कस्तो हुन्छ ? अर्थतन्त्र ध्वस्त भए पनि केही छैन । विकास हुनुपर्नेको भएकै छ । त्यही हो विकास । यस्तोमा बोल्न नसक्ने अभिशप्त एउटा जमात हुन्छ ।’

अध्यक्ष ओलीले केही पार्टीहरू सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएको भन्दै उनीहरूको राजनीति टिकाउ नहुने धारणासमेत राख्नुभयो । मौसमी खालका कुरा गर्ने, सामाजिक असन्तुष्टिलाई उपयोग गरेर आउने पार्टीहरू स्थायी रुपमा रहन नसक्ने उहाँको निश्कर्ष छ । ‘यो पार्टी दलबल गरेर केही प्राप्त गर्ने, प्राप्त गरेको चिजलाई बाँडीचुँडी खाने, मिलिजुली खाने यस्तो पार्टी होइन । यो दलबल गर्ने यस्तो चिज होइन । विचार, उद्देश्यमा संगठित हुने हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

कतिपय पार्टीलाई आफ्नो पार्टी केका लागि खुलेको भन्ने विषय नै थाहा नहुने पनि बताउनु भयो । ‘उनीहरूको गन्तव्य के हो त ? सामाजिक असन्तुष्टिलाई उपयोग गर्ने । समाजमा असन्तुष्टि बढ्यो । त्यसकारण त्यसलाई उपयोग गरेर जाने । कोही एउटा मौसमी खालका कुराहरूबाट ह्वात्त आउने । यस्ता कुराहरू राजनीतिमा देखापर्छन् । तर ती स्थायी हुँदैनन,’ ओलीको भनाई थियो ।