जनता टाइम्स

१२ माघ २०७९, बिहीबार २०:५५

प्रधानमन्त्री प्रचण्डको खुलासा : बिश्वासको मत दिएपनि कांग्रेस गठबन्धन भत्काएर आफै सत्ता लिने षडयन्त्रमा लाग्यो


काठमाडौं, माघ १२ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले मुलुक अब राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा जाने भन्दै त्यसबारे सुझाव दिन स्थायी कमिटी सदस्यहरूलाई आग्रह गरेका छन् । स्थायी कमिटीको बिहीबारबाट सुरु भएको बैठकमा दाहालले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गर्दै सुझाव माग्नुभएको हो ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको फागुन २९ गते कार्यकाल सकिन लागेको र नयाँ राष्ट्रपतिका लागि निर्वाचन तयारी भइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले पार्टीका नेताहरूबाट सुझाव माग्नुभएको हो । बैठकमा दाहलले मुलुकको अबको राजनीतिबारे धारणा बनाएर आउन आग्रह गर्नुभएको छ ’अब मुलुक राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित हुन्छ । स्थायी कमिटीको यो बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे पनि छलफल हुन्छ । यसबारे सबैले धारणा बनाउनुहोला,’ बैठकमा अध्यक्ष दाहालको भनाई थियो ।

बैठकमा दाहालले कांग्रेसले गम्भीर धोका दिएको कारण नेकपा एमालेसँग सहकार्य भएको गठबन्धनलाई नै अगाडि बढाउने आफ्नो पूर्ण प्रयास रहने पनि बताउनु भएको छ । बैठकमा सहभागी एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार दाहालले चुनावपछि कांग्रेसले गरेको अपमान र एमालेसँग २०७५ सालमा भएको पार्टी एकतादेखि एकता विघटनसम्मका विषय राख्नुभएको छ । केपी ओली र आफ्नो शैली समान भएको भन्दै दाहालले बैठकमा यो गठबन्धन टिकाएरै जाने कुरामा सवै सदस्यहरु एकमत हुनुपर्ने आफ्नो मान्यता रहेको पनि सुनाउनु भएको ती नेताले बताए ।

’विगतमा पार्टी एकता भयो फेरि विघटन भयो, यो पृष्ठभूमिमा अहिले सरकार बनेको छ । यो गठबन्धन टिकाउने र अर्को निर्वाचनसम्म लैजाने भन्ने नै हाम्रो कोसिस रहन्छ, बैठकमा दाहालको भनाई थियो । ती नेताका अनुसार प्रधानमन्त्री दाहालले एमालेले गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार उठाउने भनेको र कांग्रेसले पनि विश्वासको मत दिएपछि त्यसबापत राष्ट्रपति चाहिन्छ भनेको खुलाउनु भएको छ ।

सत्ता गठबन्धनभित्र एमालेबाट राष्ट्रपति र माओवादी केन्द्रबाट उपराष्ट्रपति उम्मेदवार बनाउने सहमति रहेको छ । माओवादी स्थायी कमिटीको बैठकले शुक्रबारदेखि एजेन्डामा छलफल गर्ने भएको छ ।