जनता टाइम्स

१३ माघ २०७९, शुक्रबार १५:३१

फागुन ११ देखि काठमाडौंमा ‘केपी ओली कप’ फुटबल, विजेतालाई १० लाख


काठमाडौं, माघ १३ । आगामी फागुन ११ गतेदेखि केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुनेभएको छ । राष्ट्रिय युवा संघ नेपालले फागुन ११ देखि १७ गतेसम्म केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

आज पत्रकार सम्मेलन गरी राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले प्रतियोगिता काठमाडौंका विभिन्न खेल मैदानमा आयोजना हुने जानकारी दिनुभयो । प्रतियोगितामा टीम दर्ताका लागि १७ गतेसम्मको समय तोकिएको छ । यस प्रतियोगितामा ‘ए डिभिजन’ टीमहरू तथा स्वदेश र विदेशी खेलाडीको सहभागिता रहने छ ।

केपी ओली कपको मुख्य उद्देश्य नेपाली फुटबलको व्यवसायिक प्रवर्द्धनमा योगदान गर्नु र यसका माध्यमबाट आम नागरिक, संघ संस्था तथा राजनितीक दलहरूलाई प्रेरित गर्नु रहेको आयोजक राष्ट्रिय युवा संघका अध्यक्ष पौडेलले बताउनु भयो ।

प्रतियोगिताको विजेता टीमले १० लाख, उपविजेताले ५ लाख, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार र हरेक खेलका विजेताले २५ हजार नगद प्राप्त गर्नेछन् । आयोजकका अनुसार प्रत्येक खेलको ‘प्लेयर अल दी म्याच’ ले १५ हजार र प्रतियोगिताका उदयीमान खेलाडीले ५० हजार पाउने छन। युवा संघले प्रतियोगिता सञ्चालनका लागि महासचिव क्षितिज थेवेलाई संयोजक तोकेको छ ।