जनता टाइम्स

१४ माघ २०७९, शनिबार १३:१०

जुम्ला धावन मार्गको हिउँ पञ्छाए पछि हवाई सेवा सुचारु


जुम्ला, १२ माघ । जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ पञ्छाएपछि हवाई सेवा सुचारु भएको छ । लगातरको हिउँले धावन मार्गमा नै जहाज बस्न कठिन भएको थियो । आज विहानैदेखी नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले धावन मार्ग सफा गरेपछि हवाई सेवा सुचारु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार हिउँ पञ्छाएपछि दुई वटा उडान भएका छन् ।

नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार हिउँ सफागरेसँगै हवाईसेवा सुचारु भएको हो । उहाँका अनुसार जहाँज आएपछि तिन दिनदेखी थन्किएका यात्रुहरु आवत जावत हुन थालेका छन् । आज विमानस्थल सफाई गरेपछि समिट एयर र तारा एयरले जुम्लामा उडान भरेका छन् ।

त्यस्तै धावन मार्गमा हिउँ जमेपछि विहानैदेखी नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम गरेको थियो । नेपाली सेना २४ नम्बर बाहीनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा विहानै देखी जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका थिए । तिन दिन देखी हिउँ परेर नेपालगंजमा जुम्ला आउने यात्रुहरु अलपत्र अवस्थामा थिए ।