जनता टाइम्स

१५ माघ २०७९, आईतवार ०८:३२

यी हात र साथ अब नछुटून


यी सबै काम ओली र प्रचण्ड मिल्दामात्र सजिलो हुनेछ । विगतको राप र ताप भुलेर अबको समय कम्युनिष्ट शक्तिहरु मिलेर अघि बढने ओलीले जसरी हात बढाउनुभएको छ । अब सत्ता गठबन्धनले बुज्नु जरुरी छ ‘यो हात र साथ कहिल्यै नछुटोस् ।’

कृष्ण केसी

मान्नका लागि मान्नु र साच्चैँ मान्नुमा फरक छ । राजनीतिमा होस् वा कुनै पनि क्षेत्रमा आफूलाई लिडर हौँ भन्नेहरुलाई मान्नका लागि मात्र मानेको धेरै तथ्यहरु भेटिन्छन । कुनै संस्था वा पार्टीको प्रमुख हुँदैमा कोही पनि लिडर हुँदैन । लिडर हुनका लागि मनैदेखि स्वीकारेको ब्यक्तित्व हुनुपर्छ ।

धेरै मान्छेहरुलाई लाग्न सक्छ कि म यो वा त्यो पदमा छु, जसरी पनि मलाई मान्नुपर्छ भन्ने तर्क गर्छन तर मेरो विचारमा उनीहरु मान्नका लागि मान्नुपर्ने पात्र हुन । वर्तमान समसामयिक राजनीतिमा साच्चँै लिडर केपी शर्मा ओली मात्र हुन । ओलीलाई आफ्ना पार्टीकाले मात्र होइन, विपक्षी दलका कार्यकर्ता वा शुभेच्छुकले जति चर्को स्वरमा बिरोध गरे पनि उनीहरुले भित्रभित्रै मात्र होइन, चियागफमा भनिरहेका हुन्छन–‘नेता भनेको त केपी शर्मा ओली जस्तो हुनुपर्छ ।’

हिजोको शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धनले एमालेलाई सडकमा मात्र होइन, धुलो चटाउने उदघोष गरिरहेका बेला कत्ति पनि बिचलित नभई ओली जसरी देश दौडाहमा निस्किए । कार्यकर्ता र शुभचिन्तको मनोवल उच्च बनाउने गरेर बोले र हजारौँको संख्यामा एमालेमा प्रवेश गराए । सर्वसाधारण नागरिक मात्र होइन । तत्कालीन सत्ता गठबन्धन दलका संघीय सांसद, प्रदेश सांसद, स्थानीय पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष मात्र होइन बहालवाला मन्त्री छोडेर पनि अरु दलबाट एमालेमा प्रवेश गरे । त्यसको परिणाम एमाले मतका आधारमा देशकै पहिलो र सर्वाधिक लोकप्रिय पार्टी बन्न सफल भयो ।

सिटका आधारमा कांग्रेसभन्दा १०/११ सिट कम आयो । सत्तारुढ दलको गठबन्धन भएको बेला संसारमा सत्ताबाहिर रहेको दलप्रति यतिधेरै आर्कषण बढेको सायद विगतमा नेपालमै हुनुपर्छ । ओलीले स्पष्ट अडान, आर्कषक शैली, प्रस्तुती र एमालेले विगतमा गरेका कामको तथ्यका आधारमा एमालेले यो स्थान हासिल गरेको हो ।

पाँच दलीय गठबन्धका बाबजुद पनि एमाले मतका आधारमा मात्र होइन सिटका आधारमा पनि पहिलो पार्टी नै बन्न सक्ने चुनावपछिका केही तथ्यहरुलाई हेर्दा पुष्टि हुन्छ । जसरी पनि सत्ता गठबन्धनलाई जिताउने जिल्ला-जिल्लामा प्रशासनिक सेटिङ, चौतर्फी प्रहार र स्वयम एमालेले कतिपय स्थानमा टिकट दिँदा नमिलाएको कारण एमाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिटको संख्यामा दोस्रो भएपनि समानुपातिकमा एमालेलाई सबैभन्दा बढी मत दिएर एमाले पहिलो शक्ति भएको आम नागरिकले पुष्टि गरेका छन ।

यदि निर्वाचनमा प्रमुख दलहरु छुट्टाछुट्टै लडेको भए के हुन्थ्यो, धेरैको जिज्ञाशा छ । तथ्यले के भन्छ भने गठबन्धन भएकै कारण एमाले ४० स्थानमा जितेर पनि हारेको छ । त्यो तथ्यले पनि झण्डै गठबन्धन नभएको भए एमाले बहुमत वा बहुमतको नजिक पुग्ने देखिएको हो । माधव नेपालले मात्र पार्टी नफुटाएको भए पनि एमालेको सम्मानजनक बहुमत आउने निश्चित थियो । सिट संख्या प्राविधिक कुरा होला तर एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेता तथा कार्यकर्ताको शिर उठाउने काम गर्नुभएको छ । एमाले हुनुमा गर्व गर्ने अनुभूति ओलीले नै गराउनुभएको छ ।

ओली नेतृत्वको नेकपाको सरकारले गरेका काम अहिले पनि धमाधम सम्पन्न हुँदैछन् । कतिपय स्वघोषित बुद्धिजिविले ओलीलाई सपना मात्र देख्ने काम नगर्ने भनेको पाउँछु । जब कुनै नेताले देश बनाउने सपना देख्दैन त्यसले काम पनि गर्दैन । ओलीले सपना नदेखेको भए काठमाण्डौबाहिर बनेका अन्तराष्ट्रिय विमानस्थल कति सकिए, कति सकिने तयारीमा छन, देशभरी सडक चौडा पार्ने काम, सबै पालिकामा अस्पताल बनाउनेलगायत दर्जनौ काम मात्र होइन सबै दलको राष्ट्रिय सहमतिमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई कानुनी रुपमै नेपालमा भित्राउने काम ओली नेतृत्वको सरकारको योगदान हो ।

ओली नेतृत्वको १८ महिने सरकारले मुर्छित सपनामाथि पानी छम्कने काम गर्यो । तथ्यले भन्छ दशककै ७.१ प्रतिशतको उच्च आर्थिक वृद्धि, निर्यात वृद्धि १९.४ प्रतिशतले, आयातको वृद्धि १३.९ प्रतिशतमा सीमित र राजस्व सङ्कलनमा २२.६ प्रतिशतले वृद्धि गरेको थियो । विकास र परिवर्तनमा ईतिहासमै नभएका कारण ओली नेतृत्वको १८ महिने कार्यकालमा भएका छन, जुन तथ्यले बोल्छ मैले शब्द खर्च गरिरनु पर्दैन ।
केपी शर्मा ओली राजनेता भएको पछिल्लो घटनाक्रमले पनि पुष्टि गर्छ । शेरबहादुर देउवाको सत्ता गठबन्धन भत्काउनु र प्रचण्डलाई विश्वास गरेर प्रधानमन्त्री बनाउनु पनि हो ।

काँग्रेसले विश्वास नै नगरेको यो बाटोबाट हिँड्न र हिँडाउन ओली सफल हुनुभयो । यो कदमले एमालेका देशभरीका कार्यकर्तामा ऊर्जा र उत्साह थपियो भने प्रधानमन्त्री र राष्ट्रपति दुबै नदिने कांग्रेसको आफै सर्वसत्तावादी बन्ने सोच चिर्दै एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाएपनि नेकपा माओवादीका नेता, कार्यकर्ता र शुभेच्छुक पनि खुसी नहुने कुरै भएन । सिटका आधारमा सबैभन्दा ठूलो पार्टी कांग्रेसले सत्ताको आश गर्दा गर्दै सभामुख, उपसभामुख मात्र गुमाएन अब प्रतिपक्षको दलका लागि पनि निवेदन दिनुपर्ने अवस्थामा आइपुगेको छ ।

धेरै मान्छेहरुलाई लाग्न सक्छ कि म यो वा त्यो पदमा छु, जसरी पनि मलाई मान्नुपर्छ भन्ने तर्क गर्छन तर मेरो विचारमा उनीहरु मान्नका लागि मान्नुपर्ने पात्र हुन । वर्तमान समसामयिक राजनीतिमा साच्चँै लिडर केपी शर्मा ओली मात्र हुन । ओलीलाई आफ्ना पार्टीकाले मात्र होइन, विपक्षी दलका कार्यकर्ता वा शुभेच्छुकले जति चर्को स्वरमा बिरोध गरे पनि उनीहरुले भित्रभित्रै मात्र होइन, चियागफमा भनिरहेका हुन्छन–‘नेता भनेको त केपी शर्मा ओली जस्तो हुनुपर्छ ।’

झण्डै ५ बर्ष संघदेखि प्रदेशसम्म सत्ताबाहिर बस्नुपर्ने अबस्थालाई मध्येनजर गर्दै ओलीले जुन कदम उठाए, जसबाट एउटा प्रधानमन्त्री प्रचण्डलाई दिँदा एमालेले धेरै पाएको छ । सभामुख, ७ वटै प्रदेशसमा सरकारमा सहभागी, ४ वटा प्रदेशसमा मुख्यमन्त्रीको नेतृत्व र अब राष्ट्रपति पनि सहमती अनुसार एमालेले पाउँदै छ । शक्ति बाडफाँटमा प्रधानमन्त्री मात्र होइन नेकपा माओवादी केन्द्रले पनि राम्रै स्थान हासिल गरेको छ । सबैभन्दा राम्रो पक्ष त के छ भने कम्युनिष्टहरुको झगडा दाजुभाइको झगडा जस्तै हो जति पानी बारबार भएपनि आवश्यक पर्दा मिल्छ सक्छन्, अहिलेको सहयात्राले त्यही पुष्टि गर्छ । ओलीले कदमले गतिलो झापड दिएको छ की आवश्यक पर्दा ओली साथ लिएर, नेतृत्व गरेर वा नेतृत्व स्वीकार गरेर जान पनि तयार हुन्छन् भन्ने प्रमाणित भएको छ ।

मिल्नु, मिलाउनु वा सरकार बन्नु वा बनाउनु संसदमा गणितीय खेल पनि हो । यसमा सफल हुनु प्राविधिक कुरा पनि हो । यो गणितीय खेलसँगै सरकारका काँधमा धेरै जिम्मेवारी छन् । पहिलो कुरा देश जुन आर्थिक संकटमा फसेको छ त्यसलाई उकास्नु जरुरी छ । स्थीरता र सुशासन कायम गर्दै वैदेशिक सम्बन्धमा थप सुधार गरी जुन सरकार आएपनि उस्तै हो भन्ने आम नागरिकमा फरकपन देखाउनु जरुरी छ । नागरिकमा ऊर्जा र उत्साह थप्नुपर्छ । यो ऐतिहासिक अवसरमलाई कुनै हालतमा पनि चुक्न नदिनु गठबन्धनको नेतृत्व गरिरहेको दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सरकारको नेतृत्व गरिरहेका पुष्पकमल दाहल प्रचण्डको प्रमुख दायित्व हो । अब विगतबाट पाठ सिक्नै पर्छ, कम्युनिष्टहरु नमिल्दा झण्डै २ तिहाईको सरकार गुमाएको त्यो अबस्था र फरक/फरक धारबाट चुनाव लडेर पनि अहिलेको अबस्थाामा आइपुगेको सहयात्रालाई मनन गर्नुपर्छ ।

वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा केही हरियो संकेत देखिएको छ । प्रधानमन्त्री प्रचण्डले कुराभन्दा अब काम गर्ने र भ्रष्टाचार विरुद्ध दरिलो कदम उठाउने जुन उद्घोष गर्नुभएको छ, त्यसले सकारात्मक आशा पलाएको छ । समकालीन राजनीतिमा सबैभन्दा कु्शल खेलाडी ओली र गतिशील खेलाडी प्रचण्ड भएको कुरा अब कामबाट देखाउनुपर्ने समय आएको छ । काँग्रेस राष्ट्रपतिको तुरुप फालेर यो गठबन्धन भत्काउन चाहन्छ । त्यो हेक्का पक्कै प्रधानमन्त्री प्रचण्डलाई पनि होला । हिजो प्रधानमन्त्री र राष्ट्रपति दुबै आफूलाई चाहिन्छ भन्ने काँग्रेसले किन विश्वासको मत दियो, त्यो दुनियाले बुझेका छन् ।

हिजो माधव नेपाल र बामदेवले ओली र प्रचण्डको बिचमा अनाबश्यक खेल्दा २३ सिटको काँग्रेस ५७ सिटमा पुग्यो न त्यसले मावध नेपाललाई फाईदा भयो नत माओवादीलाई । अब पछाडि फर्कने र कुनैपनि बहानबाजीको छुट सत्ता गठबन्धन खासगरी माओवादीलाई छैन । आम नागरिकले समृद्ध नेपाल र सुखी नेपालीको नाराको सार्थकता खोजिरहेका छन् । यी सबै काम ओली र प्रचण्ड मिल्दामात्र सजिलो हुनेछ । विगतको राप र ताप भुलेर अबको समय कम्युनिष्ट शक्तिहरु मिलेर अघि बढने ओलीले जसरी हात बढाउनुभएको छ । अब सत्ता गठबन्धनले बुज्नु जरुरी छ ‘यो हात र साथ कहिल्यै नछुटोस् ।’ [email protected]