जनता टाइम्स

१६ माघ २०७९, सोमबार १७:१६

शीर्ष नेतालाई यस्ता छन अमेरिकी उपबिदेशमन्त्री न्युल्यान्डका चार सुझाव


काठमाडौं, माघ १६ । नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाली नेताहरुलाई चार सुझाव दिनुभएको छ ।

सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेपछि पत्रकार सम्मेलन गर्दै उपमन्त्री न्युल्यान्डले चार सुझाव दिनुभएको हो । आइतबार साँझ काठमाडौं ओर्लिनु भएकी न्युल्यान्डले सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्नुभएको थियो । त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभयो ।

देउवालगत्तै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा भेटबार्ता गर्नुभयो । यस्तै न्युल्यान्डले परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग पनि भेटवार्ता गर्नुभएको छ । राजनीतिक भेटवार्तापछि दिउँसो न्युल्यान्डले पत्रकार सम्मेलन गरी उहाँले चार सुझाव दिनुभयो ।

एमाले नेतृत्वको गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने उहाँ पहिलो उच्च अमेरिकी अधिकारी हुनुहुनछ । पत्रकार सम्मेलनमा बोल्दै न्युल्यान्डले नेपाली नेताहरूसँगको भेटवार्तामा आफूले चार वटा कुरा राखेको बताउनु भयो ।

‘मैले आज काठमाडौंमा महत्वपूर्ण भेटघाट गरें । ती भेटघाटमा नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा कुरा भए,’ न्युल्यान्डले भन्नुभयो, ‘विशेष गरी मैले चार वटा विषयमा कुरा गरें।’ उहाँका अनुसार भेटवार्ताका क्रममा अमेरिकी सहयोग परियोजनाहरूमा अर्को कदमबारे कुराकानी भएको छ । एमसिसी पारदर्शी र नेपाली जनताको हितमा भएकाले यसको कार्यान्वयन महत्वपूर्ण रहेको उहाँले बताउनु भयो ।

‘नेपाल दुई ठूला छिमेकीबीच अवस्थित मुलुक हो । र यी दुबै मुलुकमध्ये भारतसँग अमेरिकाका सुमधुर सम्बन्ध छ । चीनसँगको सम्बन्ध सुधारमा पनि बाइडेन प्रशासन लागिरहेको छ,’ न्युल्यान्डले भन्नुभयो, ‘यी दुई ठूला मुलुकसँगको भूराजनीतिभन्दा पनि हामी नेपालले आफ्नो हितका विषयमा सार्वभौम निर्णय गरोस भन्ने चाहन्छौं ।’

त्यस्तै भेटमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे पनि छलफल भएको उहाँले बताउनु भयो । यसैगरी नेपालमा अमेरिकी लगानी मैत्री वातावरण बनाउनेबारे पनि भेटमा कुरा भएको छ ।  ‘धेरै अमेरिकीहरू नेपालमा लगानी गर्न इच्छुक छन । यहाँ उनीहरूलाई लगानी मैत्री वातावरण कसरी बनाउन सकिन्छ भन्नेबारे पनि हामीले छलफल गर्यौं,’ उपमन्त्री न्युल्यान्डले भन्नुभयो ।

उपविदेश मन्त्री न्युल्यान्डले भ्रष्टाचारविरूद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको जानकारी दिनुभयो । ‘अमेरिका र नेपालमा पनि भ्रष्टाचारविरूद्धको लडाइँ महत्वपूर्ण छ । त्यसमा हामी कसरी सहकार्य गर्नसक्छौं भन्नेबारे कुराकानी भयो,’ न्युल्यान्डको भनाई थियो ।

यस्तै छलफलमा नेपाल र अमेरिका दुबै प्रजातान्त्रिक मुलुक भएकाले दुई देशको सम्बन्ध आगामी दिनमा झन प्रगाढ हुने विश्वास व्यक्त गरिएको उहाँले बताउनु भयो । उपमन्त्री न्युल्यान्डले काठमाडौंका भेटघाट निकै सकारात्मक भएको निश्कर्ष पनि सुनाउनु भयो ।