जनता टाइम्स

१८ माघ २०७९, बुधबार १८:५८

राष्ट्रपति भण्डारीबिरुद्ध कस्ले रच्यो चक्रब्यूँह ?


काठमाडौं, माघ १८ । मुलुकमा अराजकता मच्चाएर धमिलो पानीमा माछा मार्न पल्केको एउटा समुहले राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध अफवाह फैलाएको तथ्य बाहिर आएको छ ।

आगामी फागुन २८ गते आफ्नो पदावधी सकिएलगत्तै आफ्नो नीजि निवासमा बस्ने योजना बनाउनु भएकी राष्ट्रपति भण्डारीलाई बिवादमा पार्न जानाजान नयाँ घर बनाइ दिने शितलनिवासको पत्र भन्दै केही समुहले अफवाह फैलाएको पाइएको हो । राष्ट्रपति भण्डारीले अवकाशपछि सरकारबाट आवास सुविधा नलिने जनाउ एक बर्ष अघि नै दिइसक्नु भएको हो ।

उहाँभन्दा अगाडिका राष्ट्रपति डा. रामवरण यादवले काठमाडौंमै घर हुँदाहुँदै सरकारले भाडामा लिइदिएको घरमा बस्दै आएकोले भण्डारी पनि त्यसै गर्न लागेको भन्दै केही मानिसहरु बदनाम गर्न लागेका हुन । राष्ट्रपति भण्डारीले यसअघि नै अवकाशपछि आफ्नै निजी निवासमा सर्ने बताइसक्नु भएको हो । उहाँले यही योजनाका साथ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित माथिल्लो भंगालमा निवास बनाउनु भएको छ ।

तर एकाएक मिडियामा ‘राष्ट्रपति कार्यालयले सरकारलाई अवकाशपछि बस्न आवास बनाइदिनुपर्ने प्रस्ताव गरेको तर, सरकारले उहाँकै जग्गामा घर बनाइदिन लागेको भनेर समाचार प्रकाशित गरिएको छ । राष्ट्रपति कार्यालयले मुख्यसचिवको कार्यालयलाई राष्ट्रपतिको अवकासपछि समन्वय गरिदिन मात्रै पत्राचार गरेको प्रष्ट पारिसकेको छ ।

सरकारले पूर्वपदाधिकारी दिने सुविधाबारे स्पष्ट कानून बनेको छैन । मन्त्रीपरिषदको निर्णयका आधारमा पूर्वपदाधिकारीहरुले सुविधा भोग गर्दै आएका छन् । पूर्वराष्ट्रपति यादवले मन्त्रीपरिषद निर्णयबाटै आवास लगायत विभिन्न सुविधा लिनुभएको छ । उहाँको निजी घर बागडोलमा सुनसान छ भने घर नजिकै सरकारले उहाँलाई मासिक दुई लाख (प्रत्येक वर्ष बढ्ने गरी) को घर भाडामा लिएर राखेको छ ।

राष्ट्रपतिका प्रेस बिज्ञ टीका ढकालले अवकाशपछि उहाँले कुनै सुबिधा नलिने बताइसक्नु भएको बताउनु हुन्छ । ‘अवकासपछि सामान्य नागरिकसरह बाँच्ने र राज्यबाट कुनै अतिरिक्त सुविधा नलिने भनेर राष्ट्रपतिज्यूले भनिसक्नुभएको छ,’ ढकालको भनाई छ ।

अवकाशपछि अघिल्लो राष्ट्रपतिले जसरी सुबिधा नलिने जनाउ दिइसकेको अवस्थामा शितल निवासको प्रस्ताव भन्दै मिडियामा समाचार लेखाएर उहाँको प्रतिष्ठामाथि आँच पुर्याउने काम गरिएको छ ।