जनता टाइम्स

१९ माघ २०७९, बिहीबार ०७:०३

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग


काठमाडौं, १९ माघ । काठमाडौं, माघ १८ गते। नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बराल र राम, लक्षण इनोभेसनका निर्देशक लक्ष्मण रिमालबीच नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान उपकरण प्रयोग गर्ने सम्झौता भएको छ।

अनेरास्ववियुका अध्यक्ष बरालले महाधिवेशनलाई काजगविहीन बनाउनका लागि विद्युतीय मतदान उपकरणको प्रयोग गर्न थालिएको जानकारी दिनुभयो।

अनेरास्ववियुले यसअघि महाधिवेशनमा भित्तेलेखन नगर्ने निर्णय गरेको छ।उहाँले सकभर सहमतिमा नेतृत्व टुङ्ग्याउने प्रयास भइरहेको र निर्वाचन गर्न आवश्यक परेका खण्डमा विद्युतीय मतदान उपकरण प्रयोग गरिने बताउनुभयो।एक सय ९९ कार्यसमिति, लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग गरी कूल दुई सय ४४ पदका लागि निर्वाचन हुनेछ।

अध्यक्ष बरालका अनुसार एक हजार सात सयभन्दा बढी प्रतिनिधि महाधिवशेनमा सहभागी हुनेछन्।महाविधेशन लागि यही माघ २४ गतेसम्म प्रतिनिधि छनोट गरिसक्नुपर्ने हुन्छ।अनेरास्ववियुको महाधिवेशन यही फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको छ।

राम, लक्ष्मण इनोभेसनका सञ्चालक रिमालले निर्वाचनमा ५० वटा भोटिङ मेसिन प्रयोग गर्ने बताउनुभयो।उहाँले निर्वाचनअघि भोटिङ मेसिनमा नमूना मतदान गरेर सिकाइनेसमेत जानकारी दिनुभयो।इनोभेसनले यसअघि एक सय ११ वटा विद्युतीय मतदान उपकरण प्रयोग गरी मतदान गरिसकेको छ।