जनता टाइम्स

१९ माघ २०७९, बिहीबार ०८:३८

मधेश प्रदेशमा आठ प्रतिशत मात्र खर्च


काठमाडौं, १९ माघ । मधेश प्रदेश सरकारले चालू आव २०७९८० को पुस मसान्तसम्ममा कुल विनियोजित बजेटको ८ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

मधेश प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार मधेश प्रदेश सरकारले छ महिनामा चालू तथा पुँजीगत खर्च गरेर तीन अर्ब ६६ करोड ९५ लाख रुपियाँ खर्च भएको छ ।

यसअनुसार बाँकी छ महिनामा ४३ अर्ब २१ करोड १३ लाख ८० हजार ३२९ रुपियाँ खर्च गर्न सक्नुपर्ने देखिएको छ ।

चालू आर्थिक वर्षमा मधेश प्रदेशको कुल बजेट ४६ अर्ब ८८ करोड नौ लाख रुपियाँ छ, जसमध्ये चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपियाँ छ । वित्तीय व्यवस्थापनतर्फ १६ करोड ६४ लाख ५६ हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।

खर्च भएको रकममध्ये अधिकांश बजेट चालूतर्फको छ जसमा कर्मचारीको तलब, भत्ता तथा कार्यालय सञ्चालन समावेश हुन्छ । खास गरेर तीनै तहका निर्वाचनसहित विभिन्न कारणले यस पटक विकास खर्च कम भएको प्रदेश सरकारको दाबी छ ।