जनता टाइम्स

१९ माघ २०७९, बिहीबार ०८:४६

बुबाको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ


काठमाडौं, १९ माघ । जाजरकोटमा हत्या भएको पाँच वर्षपछि मानव कङ्काल फेला परेको छ । भेरी नगरपालिका सिस्नेरीका ४७ वर्षीय काले कामीको मानव कङ्काल फेला परेपछि हत्या आरोपमा श्रीमती भद्धकला लुहार कामी र छोरा तुलसीराम बिक लाई प्रहरीले पक्राउ गरेको हो ।

भेरी नगरपालिका ६ सिस्नेरी बस्ने काले कामीको २०७४ पुस ३० गते श्रीमतीले हत्या गरी घरको छेउमा रहेको शौचालयको सेफटी टङ्कीमा गाडेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा २०७९ साल माघ १७ गते श्रीमती भद्धकला लुहार कामी र कान्छो छोरा तुलसीराम विकलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमान् श्रीमती बिच सामान्य विवाद हुँदा मृतक कामीले श्रीमतीलाई लट्ठीले हान्न खोज्दा उक्त लाठी खोसी श्रीमतीले श्रीमानको टाउको लगायत शरीरका विभिन्न भागमा लट्ठीले प्रहार गर्दा बार्दलीबाट खसेर कामी घाइते भएका थिए । घाइते अवस्थामै तल झरी श्रीमतीले पुन लट्ठी प्रहार गरी गम्भीर घाइते भएका श्रीमानलाई छोराहरूको सहयोगमा घरको माथिल्लो कोठामा लगी छाडी छिमेकीको घरमा बास बसेका थिए । भोलिपल्ट बिहान घरमा आएर हेर्दा श्रीमानको मृत्यु भएको देखेपछि बेलुका झिसमिसे अँध्यारोमा छोराहरूको सहयोगमा डोरीले बाँधेर घिसादैै घर नजिकैको शौचालयको खाल्डोमा हाली ढुगा माटोले पुरेको अवस्थामा पाँच वर्षपछि शौचालयको सेप्टी टङ्की उत्खनन गर्दा प्रहरीले मानव कङ्काल, लेखिएको ज्याकेट, डोरी फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले जानकारी दिनु भयो ।

श्रीमान्,श्रीमती बिच सामान्य विवादले ठुलो रूप लिएपछि श्रीमतीले श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । श्रीमती भद्धकला कामी र कान्छो छोरा तुलसीराम बिक पक्राउ परेका छन् । पक्राउ परेका आमा छोरालाई जिल्ला अदालत जाजरकोटबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ भने हत्यामा संलग्न माइलो छोरा तिलक विक, साइँलो छोरा गोविन्द विक फरार रहेकाले खोज कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख निरौलाले बताउनु भयो ।