जनता टाइम्स

१९ माघ २०७९, बिहीबार २०:४८

तत्काल सरकार नछाडने रास्वपाको निर्णय, गृहबारे निर्णय लिन प्रधानमन्त्रीलाई २ दिनको समय


काठमाडौं, माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आफ्नो कुरा राख्ने निर्णय गरेको छ ।

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहनु भएका सभापति रवि लामिछानेको प्रस्तावलाई पार्टीका बुहमत सांसद र केन्द्रीय सदस्यले स्वीकार नगरेपछि तत्काल सरकार नछाडने निर्णय भएको हो ।

केन्द्रीय समिति र संसदीय दलको बिहीबार बसेको संयुक्त बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेर को नीति लिनुपर्ने सुझाव दिएका छन् । बहुमत सदस्यहरुको अडानकै कारण रास्वपाले दुई दिनको समय दिँदै तत्काल उच्चस्तरीय संयन्त्रको बैठक राख्न माग गरेको छ ।
बैठकले गृहबारे निर्णय लिन प्रधानमन्त्रीलाई २ दिनको समय दिएको छ ।

आजको बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरी आवेसमा निर्णय नलिन सुझाउनु भएको थियो ।

दुबै नेताले २ दिनको समय मागेकाले पर्खिने निर्णय गरेको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । नागरिकता प्रकरणमा रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाउनु भएको थियो ।

सर्वोच्चको फैसलापछि नेपाली नागरिकता लिएका लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक भेटनु भएको थियो । तर प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गर्नुभएको थियो ।

रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट फिर्ता आउने चेतावनीसमेत दिएको थियो । वर्तमान मन्त्रिपरिषदमा रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की हुनुहुन्छ ।