जनता टाइम्स

२० माघ २०७९, शुक्रबार ०९:१३

प्रचण्डको अविश्वसनीय कार्यशैलीले जन्माएको आशंका


प्रचण्ड ओलीसँग सहकार्य गर्न बालकोट पुगेपछि ‘विहे एउटासँग, हनिमुन अर्कैसँग’ भन्ने आरोप खेपेका प्रधानमन्त्री ‘प्रचण्ड’ले अब आफ्नो विश्वसनीयता बढाउनुको विकल्प छैन । अन्यथा गठबन्धनरूपी डुङ्गाका प्रमुख नाविकको अपरिपक्वताले सिङ्गो डुङ्गा डुबाउन बेर लाग्दैन ।

निर्मल भट्टराई

सरकारको हनिमुन अवधि पनि पुरा नहुँदै सत्ता गठबन्धनमा समस्या पैदा हुन थालेको छ । नेकपा(एमाले) अध्यक्ष के पी शर्मा ओलीको सुझबुझपूर्ण राजनीतिको कारण जन्मिएको वर्तमान सत्ता गठबन्धनलाई सहजतापूर्वक अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्मलिँदा यो समस्या देखापरेको हो । प्रधानमन्त्री प्रचण्डले समयमा उचित निर्णय गर्न नसक्दा सत्ता गठबन्धनका निर्णायक दलबीच अनेक शङ्का उपशङ्का जन्मिएका छन् ।

काँग्रेसको मोह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदमा नेपाली काँग्रेसले ‘विश्वासको मत’ दिएपछि उनको केही दिन भुइँमा खुट्टा रहेन । अन्तिमसम्म पनि नेपाली काँग्रेसको नेतृत्वको पूर्ववर्ती गठबन्धनले सरकार दिन नसकेपछि प्रतिपक्षमा बस्न ठिक्क परेर बसेको एमालेको पहलमा बनेको यो गठबन्धन दललाई भन्दा नेपाली काँग्रेसलाई बढी प्राथमिकता दिन थालेको आभास गठबन्धनभित्रै हुन थाल्यो । अझ एक कदम अगाडि बढेर प्रचण्डले आफ्नो रबरस्ट्याम्प माओवादी स्थायी समितिको बैठक राखेर बैठकको निर्णय भन्दै नेपाली काँग्रेसका नेताकै लोलीमा बोली मिलाएर ‘राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्ने’ बताउन थालियो ।

नेपाली काँग्रेसबाट निर्वाचित प्रथम राष्ट्रपति रामबरण यादव पनि विवादित बनेको र एमालेबाट निर्वाचित विद्यादेवी भण्डारी पनि विवादित भएको भन्दै नजानिँदो पाराले बाबुरामको पक्षमा माओवादीले लविङ् गर्न थाल्यो । पूर्वतिर बम पड्काउने हल्ला चलाएर पश्चिमतिर प्रहरी चौकी आक्रमण गर्ने प्रचण्डको जनयुध्दकासलिन कार्यशैली अहिले पनि प्रकट भयो ।

गृह मन्त्रालयको लोभ

शुरूमा प्रधानमन्त्री आफूले पाएपछि जे पनि छोड्न तयार देखिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्तिसँगै एमालेले पाउने मन्त्रीमण्डलको दोस्रो बरियतामा सन्तुष्ट हुन सकेनन् । आफ्नो पार्टीलाई सामान्य मन्त्रालयमात्र भाग परेको गुनासो आफ्नो पार्टी बैठकमा गरिरहँदा रवि लामिछानेले नागरिकतासम्बन्धी सर्वोच्चको फैसलाका कारण गृहमन्त्रालय छोडेपछि प्रचण्डमा त्यो मन्त्रालयप्रति निकै मोह प्रकट भयो ।

सर्वोच्चमा रवि लामिछानेविरूध्द मुद्दा चलिरहँदा उनलाई उप-प्रधान तथा गृह मन्त्री बनाउन तयार प्रधानमन्त्री प्रचण्ड अदालतको आदेशबमोजिम रवि लामिछानेले नेपालको नागरिकता प्राप्त गरिसकेपछि उनको पार्टीको भागमा परेको गृह मन्त्रालय पुन:उनको पार्टीलाई दिन आनाकानी गर्नु गठबन्धन संस्कृतिको विरूध्द हुन जान्छ । अघिल्लो गठबन्धन सरकारमा अर्थमन्त्री रहेका जनार्दन शर्माको बहिर्गमन र पुनर्बहालीको नजिर ताजै रहँदा रविलाई गृह मन्त्रालय दिन्न भन्नु दोहोरो मापदण्ड हो । गृह मन्त्रालयको इस्युलाई लिएर वर्तमान गठबन्धन टुट्छ, गठबन्धन फेरिन्छ भन्ने हल्ला चल्नु आश्चर्यजनक हो ।

प्रचण्डको ओली फोबिया
‘मैले ओलीलाई दुई-दुई पटक प्रधानमन्त्री बनाएँ’ भनेर नथाक्ने प्रचण्डलाई ओलीले बालकोट बोलाएर किस्तीमा प्रधानमन्त्री पद दिए पनि ओलीसँग प्रचण्ड डराउन छोडेका छैनन् । त्यसो त ओलीको व्यक्तित्व र राजनीतिक चातुर्यले प्रचण्डलाई मात्र होइन, अरू धेरैलाई त्राहि त्राहि बनाएको छ । ओली नभए एक पाइला अघि सर्न नसक्ने तर पाइला-पाइलामा डर र शङ्का बोक्नु प्रचण्डको नियति नै बनेको छ । अझ ‘पूर्व मायालु’ नेपाली काँग्रेसको मायावी कर्के नजरले प्रचण्डलाई थप रणभुल्लमा पारेको छ ।

ओलीको प्रष्ट रोडम्याप
वर्तमान सत्ता गठबन्धनका डिजाइनर के पी शर्मा ओली यो गठबन्धन लामो समय टिकाउन लागि पर्नु नितान्त स्वभाविक छ । सत्ता गठबन्धनमा कुनै समस्या नआवोस् र आफ्नो संयोजकत्वमा तयार पारिएको नीति तथा कार्यक्रमको आधारमा सरकार चलोस् भन्ने प्रष्ट रोडम्याप ओलीमा रहेको प्रष्ट देख्न सकिन्छ । यसो हुन गठबन्धन बन्दा भएका सहमति सबैले इमान्दारीपूर्वक पालन गरेको अवस्थामा मात्र गठबन्धन कायम राख्न सकिन्छ भन्ने ओलीको जोड रहेको देखिन्छ । एमालेको भागमा परेको राष्ट्रपति पदबारे गठबन्धन दलमा प्रश्न उठ्नु, रास्वपाको भागमा परेको गृह मन्त्रालय उक्त पार्टीलाई नफर्काउनुजस्ता विषय ओलीलाई चित्त विझाउने विषय बनेका छन् ।

प्रचण्डको अविश्वसनीय कार्यशैली
पटक-पटक देशको नेतृत्व गर्ने ठाउँमा पुग्दा पनि प्रचण्डको विश्वसनीयता घटेको घट्यै छ । नत्र“‘प्रचण्ड’को विश्वास गर्न सकिँदैन”, “राष्ट्रपतिको निर्वाचनमा ‘प्रचण्ड’ले एमालेलाई धोका दिन बेर लगाउँदैनन्’ जस्ता टिप्पणी आज जनस्तरमा सुन्नु पर्ने थिएन । ‘प्रचण्ड’ ओलीसँग सहकार्य गर्न बालकोट पुगेपछि ‘विहे एउटासँग, हनिमुन अर्कैसँग’ भन्ने आरोप खेपेका प्रधानमन्त्री ‘प्रचण्ड’ले अब आफ्नो विश्वसनीयता बढाउनुको विकल्प छैन । अन्यथा गठबन्धनरूपी डुङ्गाका प्रमुख नाविकको अपरिपक्वताले सिङ्गो डुङ्गा डुबाउन बेर लाग्दैन ।