जनता टाइम्स

२२ माघ २०७९, आईतवार ०९:१४

माधवलाई मुकन्द न्यौपानेको काउन्टर, केन्द्रीय कमिटीमा एमालेसहितको एकताअनिवार्य गर्दै छुट्टै प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)


काठमाडौं, माघ २२ । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता मुकुन्द न्यौपानेले अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि फरक मतसहित छुट्टै प्रतिवेदन पेश गर्नुभएको छ ।

बरिष्ठ नेता न्यौपानेले नेकपा एमालेसहितको बृहत कम्युनिष्ट एकता हुनुपर्ने मतसहित केन्द्रीय कमिटी बैठकमा फरक मत राख्नुभएको हो ।

न्यौपानेले भन्नुभएको छ, ‘२०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा जनताले मतदानमा हाम्रो पार्टीलाई स्वीकार गर्न नसक्दा संविधानको प्रावधान अनुसार थ्रेसहोल्ड सम्म जोगाउन सकेन । जनताले हामीले गरेको विद्रोहलाई स्वीकार गरेनन् । एउटा कम्युनिष्ट पार्टीले आफुलाई जनताको इच्छा र आकांक्षा अनुसार चलाउनु पर्छ । यदि जनताको आवश्यकता र इच्छा अनुसार चल्न सकोनौं भने हामी असफल हुने छौं । आफ्नो कमी कमजोरीहरुलाई आत्मसात गरी सच्याउँदै अघि बढ्ने, असफलतावाट शिक्षा लिई ठोस परिस्थितिको ठोस विश्लेषण गर्न जरुरी छ । अतः संकटपूर्ण घडीमा हाम्रो पार्टीको नेतृत्वले राजनीतिक स्थायित्वका लागि, आर्थिक अवस्थालाई समाजवाद उन्मुख दिशामा लानका लागि र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा, विकास गर्नका लागि मूर्त र ठोस ढंगको राजनीतिक कार्यदिशा र मुख्य कार्यभारलाई आत्मसात गर्न जरुरी छ । आजको मुख्य कार्यभार एक देश–एक कम्युनिष्ट पार्टी निर्माण हो । नेकपा (एमाले) सहितको वृहत्कम्युनिष्ट एकता हो । यो कार्यभारलाई चालु केन्द्रीय कमिटीको वैठकवाट पारित गरि अघि वढ्नु पर्दछ ।’