जनता टाइम्स

२४ माघ २०७९, मंगलवार १६:०४

बालिका हत्या अभियोगमा अरुण साहलाई जन्मकैदको सजाय, घर स्थानीयको नियन्त्रणमा


महोत्तरी, २४ माघ । जिल्ला अदालत महोत्तरीले सात वर्षीया बालिका गुलाब साह खातुन हत्यामा दोषी ठहर गर्दै अरुण साहलाई जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीश रामचन्द्र खड्काको एकल इजलासले साहलाई पीडित परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्तिसहित जन्मकैद सजाय सुनाएको अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए । हत्या भएको ३ वर्षपछि गत आइतबार अदालतले दोषीलाई सजाय सुनाएको हो ।

७ मंसिर २०७६ मा बर्दिबासस्थित शुभम् बस्तीबाट बेपत्ता भएकी बालिका खातुन शव भोलिपल्ट साहको नै घर नजिक बोरामा प्याक गरेर फ्याँकिएको अवस्थामा फेलापरेको थियो । बयानका क्रममा साहलाई आरोप स्वीकारे थिए । पुर्पक्षकै क्रममा जेलमा रहेका साहलाई जन्मकैद सुनाइएको हो ।

अरुण साहविरुद्ध २ जेठ २०७७ मा जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता भएको थियो । बालिका खातुनको शव क्षतविक्षत अवस्थामा भेटिएपछि स्थानीयहरुले नाराबाजी गरेका थिए । सो क्रममा सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

घर स्थानीयको नियन्त्रणमा

बालिका गुलाब साह खातुनको हत्यामा दोषी ठहर भएका अरुण साहको घर स्थानीयको नियन्त्रणमा छ । गौशाला स्थायी घर भएका साहको बर्दिबासस्थित घर स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

घरको भित्तामा ‘यो अपराधीको घर हो, यसलाइ किन्ने प्रयास नगर्नुहोला’ भनेर लेखिएको छ । सोही बेला स्थानीयले घरमा आगजनीसमेत गरेका थिए ।
सो घरमा कोही बसेका छैनन् भने घरभित्र जलेर नष्ट बनाइएको खरानीबाहेक केही पनि छैन ।

घर वरिपरि झारपात पलाएको छ भने शुभम बस्तीको बीचमा ठडिएको यो घर पूर्णरुपमा एक्लिएको छ । अपराध गर्ने जोकोही कानुनको मात्र हैन सामाजिक सजायको पनि भागीदार पनि बन्नुपर्छ भन्ने सो घरको अवस्थाले सन्देश दिएको छ ।