जनता टाइम्स

२४ माघ २०७९, मंगलवार १७:३२

भारतमाथि शानदार जितसहित फाइनलमा पुग्यो नेपाल


बंगलादेश, माघ २४ । भारतविरुद्ध ३–१ को जित निकाल्दै नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

राजधानी ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई ३–१ को गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपाल दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन गोल गर्न सफल भयो ।

खेलको २१औं मिनेटमा अपुर्व नाजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफ सुरु भएको केही मिनेटमै अर्थात तर ४७औं मिनेटमा अन्जली चन्दले नेपालका लागि बराबरी गोल गर्दै खेलमा बरावरी गरिन । यस्तै कप्तान प्रिती राईले ६८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन ।

यस्तै ८९औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै ३–१ को जित दिलाएकी हुन । पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो । नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोडेको छ ।

भारतले भने एक जित एक हार र एक बराबरीबाट ४ अंक मात्र जोड्न सक्यो । हारपछि भारत फाइनल खेल्नबाट लगभग बाहिरिएको छ । भारतले फाइनल पुग्ने हो भने आजै हुने अर्को खेलमा भुटानले बंगलादेशलाई अनिवार्य पराजित गर्नुपर्नेछ ।

तर यसअघिका दुई खेल हार्दै बाहिरिसकेको भुटानले बंगलादेशलाई हराउनु निकै चुनौतीपूर्ण मानिएको छ । नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा पनि नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । यसपटक पनि नेपाल फाइनलको यात्रा पुगेको छ ।