जनता टाइम्स

२५ माघ २०७९, बुधबार १८:५७

अखिलमा को बन्ला सुनिता बरालको उत्तराधिकारी ? यी हुन पदाधिकारीका आकांक्षी


काठमाडौं, माघ २५ । नेकपा एमालेको जनबर्गीय संगठन अनेरास्ववियुको अध्यक्षका पाँच जना आकांक्षी देखिएका छन । अनेरास्वबियुको २३औं राष्ट्रिय महाधिवेशनको मिति आउन एक साता मात्रै बाँकी रहँदा बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव गरी पाँच् जनाले चुनावी प्रतिस्पर्धा गर्ने तयारीका साथ प्रतिनिधि भेटघाट तीब्र बनाएका हुन ।

अखिलको २३औं राष्ट्रिय महाधिवेशन यही फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएकी अनेरास्वबियुकी अध्यक्ष सुनिता बरालले महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने बताएपछि पदाधिकारीहरु नेतृत्वका लागि दावी गर्दै नेतादेखि प्रतिनिधि भेटघाटमा लागेका हुन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षका लागि दावी पेश गर्न आउने सवै आकांक्षीलाई शुभकामना दिएर प्रतिनिधिको मतबाट निर्वाचित हुन निर्देशित गर्नुभएको छ । उहाँले सार्वजनिक रुपमै पनि अखिलका नेताहरुलाई पार्टीमा गुटबन्दी नरहेको तथ्य औंल्याउदै स्वस्थ प्रतिस्पर्धा गर्न निर्देशन दिनुभएको छ । अध्यक्ष ओलीको यो भनाईसँगै अखिलमा निर्वाचनबाट नेतृत्व चयन हुने देखिएकोले सवै आकांक्षीको ध्यान प्रतिनिधितर्फ सोझिएको छ ।

महाधिवेशनबाट अध्यक्ष बनेर अनेरास्वबियुको नेतृत्व लिन बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल, उपाध्यक्षहरु मोति बिक, झपिन्द्र खत्री, लोकेश निरौला र उमेश आचार्यले अभियान अघि बढाएका छन । अध्यक्षका दावेदारहरु प्रीतनिधिलाई आफ्नो पक्षमा पार्न बिभिन्न योजनाको आश्वासन समेत दिन थालेका छन ।

यस्तै उपाध्यक्षमा मर्यादा बिष्ट, प्रकाश भुजेल, सुजन भट्टराई, जेनिस लामा, धर्म गिरीसहित आधा दर्जन आकांक्षी देखिएका छन । महासचिवमा पनि आधा दर्जन आकांक्षी देखिएका छन । हालसम्म कल्पना वाइवा, भास्कर खनाल, नारायण घर्ती, शुदर्शन शिवाकोटी, गोबिन्द गिरी र नरेश रोकायाले महासचिवमा उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ । अन्य केही आकांक्षी पनि देखिएका छन । खासगरी सचिवका लागि महासचिवमा दावी गर्नेको संख्या बढने अनुमान गरिएको छ ।

महाधिवेशनको मिति नजिकिएसँगै अगामी अध्यक्षका लागि पदाधिकारीले आफ्नो अभियान थालेका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै गुट नभएको भन्दै जनसंगठनमा पनि गुटबन्दी स्वीकार्य नहुने निर्देशनसहित स्वस्थ प्रतिस्पर्धा गरेर मतदाताको मतले श्रेष्ठता कायम गर्न निर्देशन दिनुभएको छ ।

अनेरास्वबियुमा सवैभन्दा बढी आकांक्षी सचिवमा देखिएको छ । स्थायी कमिटीका सवै सदस्यले सचिवमा दावी गरेका हुन । अनेरास्वबियुमा करिव २ सय जना स्थायी कमिटी सदस्य रहेका छन । यही कारण ठूलो संख्यामा सचिवमा उम्मेदवारी पर्ने देखिएको छ । अनेरास्वबियुकी अध्यक्ष सुनिता बरालले सवै उम्मेदवारलाई शुभकामना दिएर स्वस्थ प्रतिस्पर्धाका लागि अघि बढन सुझाउनु भएको छ ।

सम्मेलनको तयारी सवै लगभग सकिएकोले महाधिवेशनलाई मर्यादित र ब्यवस्थित रुपमा सम्पन्न गर्नुपर्ने भन्दै बरालले आफू बहुसंख्यक प्रतिनिधिले छानेको ब्यक्तिले नेतृत्व गरोस भन्ने पक्षमा रहेको र पार्टी नेतृत्वको चाहना पनि यही रहेको बताउनु भयो ।

‘महाधिवेशनमा धेरै साथीहरुले आफूलाई उम्मेदवारको रुपमा प्रस्तुत गर्ने दावी गर्नुभएको छ, मेरो दायित्व स्वस्थ र मर्यादित रुपमा महाधिवेशनलाई भब्य रुपमा सम्पन्न गराउने दायित्व रहेको छ,’ अध्यक्ष बरालले जनताटाइम्स डटकमसँग भन्नुभयो । उहाँले अनेरास्वबियुको महाधिवेशशनले बिद्यार्थी आन्दोलन र पार्टी आन्दोलनमा नयाँ उर्जा पैदा गर्ने पनि बताउनु भयो ।

अध्यक्ष बरालले जो आकांक्षी संगठनको मर्यादाअनुसार सवैलाई मिलाएर सालिन रुपमा प्रस्तुत हुन्छ, उसैलाई आफ्नो समर्थन रहने बताउँदै आउनु भएको छ । प्रतिनिधि छनोटको अवस्था हेर्दा अध्यक्ष बरालकै पक्षमा रहेका धेरै बिद्यार्थी नेताहरु छानिएर आएकोले सवै आकांक्षीले बरालकै साथ खाजेको अवस्था पनि देखिएको छ । ‘सवै आकांक्षीले समर्थन माग्नुभएको छ, मैले सवैलाई शुभकामना भनेको छु, प्रतिनिधि साथीहरुले योग्य नेता छान्नुहुन्छ भन्नेमा पनि पुर्ण बिस्वस्थ छु,’ अध्यक्ष बरालले भन्नुभयो ।