१ भाद्र २०७६, आईतबार ००:००

प्रणाली उल्टाउँछु भन्ने, प्रगितमन ल्याउँछु भन्ने कुरा सरकारलाई सैह्य हुँदैन : प्रधानमन्त्री ओली


काठमाडौं, भदौं १ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरोधी गतिविधिलाई निरन्तरता दिने तत्वहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको संयमयतालाई कमजोरी ठानेर नहौसिन पनि सचेत गराउनुभएको छ ।

‘सरकार विरोध र आलोचनाको स्वागत गर्छ, तर सरकारको संयमतालाई हेरेर केही तत्वहरु बढी हौसिएको देखिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रणाली उल्टाउँछु भन्ने, प्रगितमन ल्याउँछु भन्ने कुरा सरकारलाई सैह्य हुँदैन । जनताको शासनविरोधी क्रियाकलाप गर्ने तत्वहरु नहौसिए हुन्छ ।’

प्रधानमन्त्री ओलीले प्रतिगामीहरु सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ भन्ने नठान्न पनि चेतावनी दिनुभयो । ‘प्रधानमन्त्री लगलग कामेका छन, प्रधानमन्त्री पद जाने भए भनेको सुनेँ । पद नगएको राजा, महाराजा प्रधानमन्त्री कोही छैन । मलाई पनि अर्को चुनावदेखि बस्न मन छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘प्रतिगामी सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ, लगलग कामेको छ भन्ने नठाने हुन्छ । चिहानमा गएर हड्डी फुकेर व्यवस्था फर्काउँछु भनेर बेमौसमको बाजा नबजाए हुन्छ ।’

प्रधानमन्त्री ओलीले ब्यवस्था फर्काउछु भन्नेहरुको कुरालाई सरकारले नपत्याएको टिप्पणी गर्नुभयो । ‘अहिले सरकारले नपत्याएर हो, पत्याएका दिन गणतन्त्र, संघीयता र लोकतन्त्रको रक्षाका लागि सडक उत्रन्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले नेकपाको सरकार कुनै सेन्टिमेन्टमा नबनेको स्मरणसमेत गराउनुभयो । सरकारले आवश्यक कानुनहरु छोटो समयमा नै निर्माण गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले कतिपय आवश्यक कानुनहरु यही अधिवेशनबाट टुंगोमा पुर्याउनुपर्ने बताउनुभयो ।

उहाँले केही भएन भन्दा पनि आर्थिक वृद्धिदर उच्च भएको, बाटो, पुल निर्माण तीब्र भएको बताउनुभयो । ‘केही भएन भन्छन, केही नहुँदा पनि ७ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, अर्को पटक ८.५ प्रतिशत पुग्छ, अर्को पटक ९.५, अर्को वर्ष ११ प्रतिशत पुग्छ, अझै केही भएन भन्नेले सजग गराएकोमा धन्यवाद,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘१४ सय किलोमिटर पिच भएको छ, ३ सय पुल बनाउँदा कम भयो भने ५ सय वटा पुल बन्छन, बाटोहरु चौडा बन्दैछ ।’

प्रधानमन्त्री ओलीले मेलम्चीको ठेकेदार भागेपछि पनि सरकारले आफैं काम गरिरहेको, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष अनुगमनको व्यवस्था मिलाइएको, नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि प्रधानमन्त्री र मन्त्रीहरुबीच सम्झौता भएको, मन्त्री र सचिवहरुको बीच समेत सम्झौता भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सिफारिस आउनेवित्तिकै यसै साता सत्य निरुपण र बेपत्ता आयोग गठन हुने जानकारी दिनुभयो । ‘सरकारले आफ्ना प्रतिबद्धताहरु शीघ्रतिशीघ्र निरुपण गर्छ । द्वन्द्वको खाटाहरु अहिलेसम्म रहनु र चहर्याउनु राम्रो होइन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले छिट्टै अन्तरप्रदेश बैठक बोलाउने जानकारीसमेत दिनुभयो ।
प्रधानमन्त्री ओलीले तत्काल सरकार परिवर्तन हुने कुनै संभावना रहेको पनि प्रष्ट पार्नुभयो ।