जनता टाइम्स

३ फाल्गुन २०७९, बुधबार १७:०४

सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन : गोंगबु घटनाको छानविन गर्नुस, लुटपाटमा संलग्नमाथि कडा कार्वाही होस


काठमाडौं, फागुन ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिनुभएको हो।

‘गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु । राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ, घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस,’ गृह मन्त्रालयको कार्यभारसमेत आफैले लिनुभएका प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘लुटपाटको घटना झन गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही गर्नुस र जो जो पीडित छन, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस ।’

छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताउनुभयो । छलफलमा उहाँहरूले घटनामा परी ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बिच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको ब्रिफिङ गर्नुभएको थियो ।

छलफलका क्रममा उहाँहरूले घटनाको छानविन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएकोसमेत जानकारी दिनुभयो । प्रधानमन्त्रीकै पहलमा भएको छलफलमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, गृहसचिव, प्रधानमन्त्री कार्यालयको तर्फबाट शान्तिसुरक्षा हेर्ने सचिव र सुरक्षा अंगका प्रमुखहरू उपस्थित हुनुहुन्थ्यो।