काठमाडौं, फागुन ३ । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।आयोगले तीन विषयमा थप अनुसन्धान गर्नुपर्ने सुझावसहित वेबसाइटमार्फत बिमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
डेढ महिनाको कार्यावधिसहित सरकारले माघ १ गते पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोग सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंग थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।
माघ १ गते काठमाडौंबाट बिहान १०ः३२ बजे पोखराका लागि उडेको यती एयरको ९ एन–एएनसी, एटीआर–७२ विमान १० बजेर ५६ मिनेट ३२ सेकेन्डमा सेती नदीको खोंचमा दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका ४ सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । पोखरामा १ माघमा दुर्घटनामा परेको यती एयरको जहाजमा दुर्घटनाको ठीक अघि पाइलटको कमाण्ड परिवर्तन भएको पाइएको छ ।
दुर्घटना जाँच आयोगले बुधबार वेबसाइटमार्फत सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा दुर्घटनाको १४ सेकेण्ड अघिमात्र पाइलट अञ्जु खतिवडाबाट कमाण्ड प्रशिक्षक पाइलट कमल केसीले लिएका थिए । जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा खसेको थियो । त्यसको १४ सेकेन्ड अगाडि को–पाइलटको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले जहाजको कन्ट्रोल लिएको प्रतिवेदनमा देखिएको छ । त्यसबेला जहाजमा खतरा जनाउने संकेत देखिइसकेको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
ल्याण्डिङ गियर भने सामान्य तरिकाले नै खुलेको थियो । अवतरणका दौरान पाइलट सिटमा बसेकी अञ्जुले को–पाइलटको सिटमा बसेका प्रशिक्षक पाइलट केसीसँग निरन्तर सुझाव मागेकी थिइन् । उनले जहाजलाई निरन्तर देब्रे मोड्ने कि नमोड्ने भनेर सोधेकी थिइन् । जसमा केसीले मोड्न अनुमति दिएका थिए । खतिवडाले जहाज अझै तल लैजाने वा नलैजाने भनी सोध्दा त्यसो नगरी इन्जिनको पावर बढाउन भनेका थिए ।
तर, इन्जिनमा पावर नआएको पत्तो पाएसँगै अन्तिम क्षणमा उनले जहाजको कमाण्ड प्रशिक्षक पाइलट केसीको हातमा सुम्पिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘यो महत्वपूर्ण छ कि पाइलट अञ्जु खतिवडा ९पीएफ० ले १०ः५७ः१८ मा जहाजको कन्ट्रोल पाइलट कमल केसी ९पीएम० लाई हस्तान्तरण गरेकी थिइन् । १०ः५७ः२० मा केसीले पनि इन्जिनबाट कुनै शक्ति नआएको बताए ।’ त्यतिबेला जहाज जमिनदेखि ३११ फिट माथि थियो ।
दुर्घटनाका बेला जहाज धावनमार्गको बेस लेगमा थियो । अर्थात जहाज मोड्नुपर्ने अवस्थामा थियो । त्यसबेला जहाजका दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको छ । यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज सेती खोँचमा झरेको थियो ।
यो अवस्था आउनुमा इन्जिनकै खराबी थियो, मानवीय कमजोरी भयो वा अवतरण गर्ने मार्गमै केही समस्या थियो भन्नेबारे भने विस्तृत प्रतिवेदनले मात्र देखाउने भएको छ । दुर्घटना जाँच आयोगले अबको अनुसन्धान यी तीन विषयमा केन्द्रित हुने बताएको छ । सो दिन उही चालक दलका सदस्यको यो तेस्रो उडान थियो । जहाज भीएफआर प्रणालीबाट अवतरण गरिरहेको थियो ।
यो जहाज १०ः३२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । जहाज पोखरा पुगेपछि ६ हजार फिटबाट अवतरणका लागि ३११ फिटको उचाइमा ओर्लिसकेको थियो । ट्राफिक कन्ट्रोलरले जहाजलाई धावनमार्ग ‘थ्री जीरो’बाट अवतरण गर्न अनुमति दिएका थिए । तर, पाइलटले उत्तरतर्फको रनवे ‘वान टू’बाट जहाज अवतरण गराउने गरी अनुमति मागे । यस्तो अनुमति किन मागे भन्ने खुलेको छैन । सोही अनुसार एटीसीले अनुमति पनि दिएको थियो । तर जहाज केहीबेरमै दुर्घटनामा परेको थियो ।
प्रारम्भिक प्रतिवेदनको पूर्णपाठ













प्रतिक्रिया दिनुहोस्