काठमाडौं, फागुन ४ । खाना पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा घाइते भएका गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान चिकित्सकहरुले सिफारिस गरेका छन् । हिजो घरमा ग्यास विस्फोट हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो ।
किर्तिपुर अस्पतालले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै ुहालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छु भनेको छ ।
काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते हुनुभएको थियो । सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशत भाग जलेको डाक्टरहरूले बताएका छन् । दुवै जनाको श्वासनलीमा तातो हावा र धुँवाका कारण जलन भएको हुनसक्ने अध्यधिक सम्भावना रहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।
‘माननीयज्यूको अनुहार, दुवै हात र दुवै गोडाहरुमा गरी २५–३० प्रतिशत र आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवैजनाको श्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ’, अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ ।’
भण्डारी र आमालाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ । चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको उहाँका स्वकीय सचिव भुवन भुसालले बताउनु भयो ।
कीर्तिपुर अस्पतालका भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान चिकित्सकहरुले सिफारिस गरेका हुन् । भण्डारीलाई श्री एयरलाइन्सको चार्टड विमानबाट मुम्बई लैजाने तयारी भइरहेको छ । बिहीबार बिहान स्वास्थ्यमन्त्री पदम गिरीले भण्डारीलाई भेटेर सरकारले उपचारको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता जनाउनु भएको थियो ।












प्रतिक्रिया दिनुहोस्