जनता टाइम्स

५ फाल्गुन २०७९, शुक्रबार १८:४५

ओलीसँगको बार्तापछि प्रधानमन्त्री प्रचण्डको घोषणा : सत्ता गठबन्धन भत्किदैन, राष्ट्रपतिबारे १–२ दिनभित्र सहमतिमै टुंगो लाग्छ


भक्तपुर, फागुन ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन नभत्किने प्रष्ट पार्नुभएको छ ।

गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उहाँकै निवास बालकोटमा भेटवार्ता गरेपछि बालकोटबाट निस्कने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो । उहाँले अहिलेको गठबन्धन नभत्किने र केही दिनमै राष्ट्रपतिबारे सहमति हुने बताउनु भयो ।

‘गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्ने/भत्कने कुरै छैन । राष्ट्रपतिको पनि १–२ दिनमा सहमति मै टुंगो लाग्छ,’ गठबन्धन अब के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधामन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बिहीबार पनि भेटवार्ता भएको थियो । माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताइरहँदा एमालेले भने पुस १० गतेकै सम्झौताअनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएको छ ।

उता नेपाली कांग्रेसका नेताहरुले विद्यमान रहेको गठबन्धन जसरी पनि तोड्नुपर्छ भनेर खुलेआम लागिरहेका छन् । महामन्त्री गगन थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउँछौं भनेर सार्वजनिक अभिव्यक्ति नै दिनुभएको छ भने आज मात्रै प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसलाई माओवादीले सघाएर यो गठबन्धन भत्काउने बताउनु भएको छ ।

कांग्रेसले पुस १० मा आफूलाई धोका दिएर एमालेको योजनामा प्रधानमन्त्री बनेको भन्दै दाहालमाथि बदला लिने योजना बनाएको बिषयमा आज एमाले अध्यक्ष ओलीले प्रष्ट कुरा राख्नुभएको छ । यस्तै दाहालले पनि आफूले राष्ट्रिय सहमति भन्नुको अर्थ बर्तमान गठबन्धन भन्दा बाहिर गएर कांग्रेससँग सहकार्य नभएको प्रष्ट पार्नुभएको छ ।