सुर्खेत, माघ ५ । २०२२ सालअघि जतिबेला सुर्खेत उपत्यका औंलो रोग संक्रमणको जोखिमपूर्ण स्थानका रुपमा चिनिन्थ्यो। महामारीकै रुपमा रहेको औंलोबाट पीडित यहाँका मानिस उपत्यका छोडेर माथिल्लो भेगमा बस्थे। उनीहरु हिउँदे बाली लगाउन मात्र उपत्यका झर्थे । अहिले वीरेन्द्रनगरमा आउनेहरुको जति तँछाडमछाड छ, त्यस्तै त्यतिबेला वीरेन्द्रनगर छोड्नेको थियो।
वीरेन्द्रनगर उपत्यकामा ०२२ सालमा जब औंलो उन्मुलनको घोषणा भयो, त्यसपछि खेती लगाउन मात्र आउने मानिस स्थायी रुपमा बस्नेगरी आउने क्रम सुरु भयो। त्यसयता विस्तारै उपत्यका बस्तीका रुपमा विकास भयो। अहिले वीरेन्द्रनगर एक सहरका रुपमा विकास भएको छ।
यो उपत्यकालाई २०३९ सालदेखि वीरेन्द्रनगर नगरपालिका भनेर चिन्न थालिएको हो। २०२४ सालतिर अमेरिकाबाट आएका स्वयमसेवकहरुले उपत्यकामा बाटोको रेखांकन गरेका थिए।
राजा वीरेन्द्रले ०२९ सालमा अध्यादेशमार्फत नगर विकासको अवधारणा अघि बढाए र त्यसैबेला वीरेन्द्रनगरको पनि गुरुयोजना बनाईयो । वीरेन्द्रनगरको गुरुयोजना बनाउने व्यक्ति हुनुहुन्थ्यो माधवभक्त माथेमा । उहाँले बनाएको त्यही गुरुयोजनामै रहेर वीरेन्द्रनगरको अहिले पनि विकास भईरहेको छ । माथेमा सहरी विकास योजनाका विज्ञ हुन्। माथेको सुर्खेत आउने योजना एक्कासी बनेको थियो ।
‘भर्खर अमेरिकाबाट अर्बन प्लानिङमा मास्टर्स सकेर काठमाडौं आएको थिएँ, कोठामा नपस्दै प्रमुख ईञ्जिनियरले चिठी थमाएर सुर्खेत जानुपर्यो भन्नुभयो,’ ३५ बर्षपछि सुर्खेत आउनु भएका माथेमाले भन्नुभयो, ‘मैंले पनि हुन्छ भनेर सुर्खेत आएँ, त्यतिबेला संयुक्त राष्ट्रसंघ विकास परियोजनाको जहाज १५ हजारमा चाटर्ड गरेर मेरो समूह सुर्खेत आएको थियौं ।’ माथेमाका अनुसार काठमाडौं बसेर वीरेन्द्रनगर उपत्यका पत्ता लगाउन निकै कठिन भएको थियो । त्योबेला माथेमा समूह सुर्खेतमा केही समय बसेर वीरेन्द्रनगर उपत्यकाको विकास योजना बनाएको थियो ।
माथेमाको समूहले त्यसबेला तीन चरणमा विकास गर्नेगरी योजना बनाएको थियो। जसमा पूर्वको ईत्राम खोलादेखि पश्चिम खोर्के खोलाको बीचको भागलाई सरकारी लगानीमा शहरी विकास गर्ने, त्यसभन्दा उता भैरवस्थानदेखि ढोडेखालीसम्मको भागलाई स्थानीयको लगानीबाट विकास गर्ने र रत्न राजमार्ग भन्दा तल्लो भागलाई सरकारी स्वामित्वमा कृषि क्षेत्रका रुपमा विकास गर्ने योजना थियो।
३५ बर्षपछि सुर्खेत आएका योजनाकार माथेमाले अहिले अघिकांश वीरेन्द्रनगरको विकास आफूले गरेको गुरुयोजना अनुसार नै भएको पाएको बताउनुभयो । उहाँी कर्णाली उत्सवमा वक्ताको रुपमा सहभागी हुन बिहिवार सुर्खेत आउनु भएको थियो । ‘बनाईएको गुरुयोजनाअनुसार पछिल्लो विकास भएको छ, केही समस्या त हरेक सहरमा हुन्छन्,’ उत्सवको ‘यो सहरः त्यो रहर’ सत्रमा बोल्दै उहाँले भन्नुभयो, ‘यसको आगामी विकासको बारेमा भने अझैं सोचेर लाग्नुपर्छ।’
माथेमाका अनुसार त्यो समयमा विस्थापित परिवारलाई घडेरी व्यवस्थापन गरिदिने कुरा पनि योजनामा थियो । सिमित घडेरी केही परिवारलाई वितरण गरिएको थियो। वीरेन्द्रनगर उपत्यकामा गुरुयोजना बनाउने सयमा सवारी साधन, ईट्टा, सिमेन्ट थिएन। त्यसले गर्दा पनि सुरुमा सरकारी लगानीमा सहरको विकास गर्ने योजना बनेको थियो।
अहिले सुर्खेतमा भएको विमानस्थलको विकल्प हेरिएको छ। माथेमाका अनुसार गुरुयोजना बनाउने बेला नै वैकल्पिक गुरुयोजनाको परिकल्पना गरिएको थियो। ‘त्यतिबेला योजना बनाउँदा अहिलेको विमानस्थल बाहेक देउतीबज्यै क्षेत्रमा पूर्व–पश्चिम पर्नेगरि विमानस्थल विकल्पका रुपमा हेरेका थियौं, तर त्यहाँ विमानस्थल बनाउँदा मानिस विस्थापित हुने सम्भावना बढी भएपछि सफल भएन,’ उहाँले भन्नुभयो ।
माथेमाको समूहले उपत्यका ठूलो भएकाले नेपालगञ्जलाई यो क्षेत्रको हवाई हब बनाउनेबारेमा पनि सोचेको थियो । पहिलेको योजना सफल नहुँदा अबको समयमा संरचना विकास गरेर वीरेन्द्रनगर उपत्यकामा ठूला विमान चलाउने सम्भावना न्यून भएको उहाँ बताउनु हुन्छ ।
उहाँका अनुसार सुर्खेतलाई अरु देशको सहरलाई हेरेर गुरुयोजना भने बनाईएको होईन । यसलाई यहीँको मौलिक सहरका रुपमा विकास गर्ने योजना बनेको थियो। ‘म सुर्खेत आउँदा यहाँ ठूलो भोकमारी थियो, त्योबेला मैंले गरिबीको महशुस गरेको थिएँ । त्यही भएर त्यतिबेला मैंले नेपाल बाहिरका शहरको परिकल्पना गरेर योजना बनाइँन।’ उहाँले भन्नुभयो ।
सुर्खेतमा लगाईएका अहिलेका गुलमोहर फूलका बिरुवाहरु भारतको लखनउबाट १०० रुपैयाँमा किनेर ल्याईएको थियो । सत्रमा सहभागी वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल अहिलेसम्म वीरेन्द्रनगरको विकास योजनाबाहिर नगएको बताउनु हुन्छ । यसलाई अझ व्यवस्थित गर्न नगरपालिका लागेको उहाँले बताउनु भयो ।
‘हाम्रो पहिलो अभियान सरकारी जग्गाको संरक्षण हुनेछ, बजार क्षेत्रको पार्किङलाई व्यवस्थापन गर्न जोड दिएका छौं,’ ढकालले भन्नुभयो, ‘हिजो जुन उद्देश्यले गुरुयोजना बनाईएको थियो, त्यसअनुसार गर्छौ भनेर हामीले प्रतिबद्धता गरेका थियौं, त्यसै गरिरहेका छौं।’ नगरपालिकाले वीरेन्द्रनगरलाई कसरी विकास र व्यवस्थित गर्ने भन्ने विषयमा ६ महिना अध्ययन गरिएको बताउनु भयो ।
उहाँका अनुसार पुरानो गुरुयोजनालाई कायम राख्नेगरी अहिले नगरपालिकाले भूउपयोग नीति बनाएको छ । जसमा अब नयाँ प्लटिङ गर्दा १० मिटरको बाटो बनाउनुपर्ने, खोला किनारमा कुनैपनि व्यक्तिगत संरचना बनाउन नमिल्ने व्यवस्था गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्