जनता टाइम्स

७ फाल्गुन २०७९, आईतवार ०१:२५

तव मात्रै प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुन्छ : राष्ट्रपति


काठमाडौं, फागुन ७ । राष्ट्रपति बिद्यादेवी भण्डारीले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने बताउनु भएको छ । प्रजातन्त्र दिवस २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।

‘वर्तमान शासन व्यवस्थाले दशकौंदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकांक्षालाई मूर्त रूप दिन सक्नु पर्दछ । यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुन सक्दछ,’ सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको राजनीतिक इतिहासमा फागुन ७ को बिशिष्ट महत्व रेहेकोपनि उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको छ । वि.सं. २००७ सालमा जहानिया निरङ्कुश शासनविरूद्ध जनताको संघर्षले आजकै दिन विजय हासिल गरेको थियो । जनताको एकतावद्ध सामर्थयले जस्तोसुकै निरङ्कुशतालाई पराजित गरी मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता बहाल गर्न सक्छ भन्ने यथार्थलाई प्रजातन्त्र दिवसले सदैव स्मरण गराउँछ ।’

शुभकामना सन्देशको पूर्णपाठ

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै‚ मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवम् श्रद्धा प्रकट गर्दछु ।

नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको छ । वि.सं. २००७ सालमा जहानिया निरङ्कुश शासनविरूद्ध जनताको संघर्षले आजकै दिन विजय हासिल गरेको थियो । जनताको एकतावद्ध सामर्थयले जस्तोसुकै निरङ्कुशतालाई पराजित गरी मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता बहाल गर्न सक्छ भन्ने यथार्थलाई प्रजातन्त्र दिवसले सदैव स्मरण गराउँछ ।

प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्न रूपले जोडिएको छ । वि.सं.१९९७ मा प्रजापरिषदको अगुवाईमा भएको आन्दोलनको क्रममा महान सहिदहरू गंगालाल श्रेष्ठ‚ धर्मभक्त माथेमा‚ शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भयो । उहाँहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ । यसकारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदहरूको अमर गाथा पनि सदैव स्मरण गराउँछ ।

आज हामीले हासिल गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो । तसर्थ‚ वर्तमान शासन व्यवस्थाले दशकौंदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकांक्षालाई मूर्त रूप दिन सक्नु पर्दछ । यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुन सक्दछ ।

अन्तमा, नेपालको संविधानप्रति प्रतिवद्ध रहँदै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा साकार बनाउन हामी सबैमा प्रेरणा मिल्ने विश्वास सहित प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दछु ।